काठमाडौँ, फागुन — राजधानीको ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा आज चिर गाढेसँगै फागु पूर्णिमा अर्थात् होली पर्व औपचारिक रूपमा सुरु भएको छ।
परम्पराअनुसार वसन्तपुरमा चिर ठड्याएपछि होली पर्वको प्रारम्भ भएको मानिन्छ। बिहानैदेखि स्थानीयवासी, युवायुवती तथा पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको थियो। सांस्कृतिक बाजागाजा, नाचगान र रंगीन झण्डासहित चिर गाढ्ने कार्यक्रम उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको हो।
होली पर्वलाई आपसी सद्भाव, मेलमिलाप र खुसी साटासाट गर्ने पर्वका रूपमा मनाइन्छ। पहाडी तथा हिमाली क्षेत्रमा आजदेखि एक सातासम्म होली मनाइने चलन छ भने तराई–मधेश क्षेत्रमा पूर्णिमाको भोलिपल्ट विशेष रूपमा मनाइने गरिन्छ।
जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले होलीलाई मर्यादित र सुरक्षित रूपमा मनाउन आग्रह गरेका छन्। जबर्जस्ती रंग दल्ने, पानी छ्याप्ने, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा ट्राफिक नियम उल्लङ्घन नगर्न सबैलाई अनुरोध गरिएको छ।
यसैबीच, होली पर्वलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा सांस्कृतिक कार्यक्रम, सांगीतिक प्रस्तुति तथा मनोरञ्जनात्मक गतिविधिहरू आयोजना गरिने तयारी गरिएको छ।
रंग, खुसी र सद्भावको सन्देश बोकेको होली पर्वले समाजमा आपसी भाइचारा थप मजबुत बनाउने विश्वास लिइएको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
