मुरारी तामाङ टोखा नगरपालिकाको कांग्रेसका तर्फबाट उपमेयरका उम्मेदवार छन् । पार्टीको महासमिती सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी बहन गरिसकेका तामाङ खेलकुद क्षेत्रसंग समेत आवद्ध छन् । बादोकाई कराते संघ अध्यक्ष रहेका टोखा नगरपालिकाका उपमेयरका उम्मेदवार तामाङसंग गरिएको संक्षिप्त कुराकानी ।
तपाई टोखा नगरपालिकाको उपमेयरको उम्मेदवार हुनुहुन्छ, चुनावी तयारी कसरी गरिरहनु भएको छ ?
चुनावको तयारी व्यवस्थीत तरिकाबाट अघि बढिरहेको छ । पार्टीका साथीहरु प्रचारमा खटिनु भएको छ । आफ्ना एजेण्डालाई मतदाता समक्ष पु¥याउने र मत माग्ने काम गरिरहेको छु ।
तपाईका एजेण्डा कस्ता छन् ?
मूलत पार्टीले जारी गरेको घोषणा पत्रमै आधारित रहेर हाम्रो एजेण्डा बनेको छ । स्थानिय आवश्यकता र समस्याहरुलाई हामीले उठाएका छौं । टोखा नगरपालिका विविधिताले भरिएको नगरपालिका हो । भाषा, धर्म, संस्कृति र जात्राहरुले सम्पन्न छ । त्यसको संरक्षण र विकास आवश्यक छ । सडक, खानेपानी, फोहोर व्यवस्थापन जस्ता कुरामा व्यापक सुधार आवश्यक छ ।
झोर र टोखा क्षेत्र कृषिको प्रचुर सम्भावना भएकाले राहत र प्रोत्साहान आवश्यक देखेको छु । पार्क, खुला व्यायामशाला, पार्किङ व्यवस्थापन जस्ता काम गर्न आवश्यक छ ।
आर्थिक अवस्था कमजोर भएका नगरबासीको लागि स्वास्थ्य र शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने योजना छ । बृद्धबृद्धा तथा बालबालिकाको हितमा आवश्यकता अनुसार कार्यक्रम तयार पार्नु पर्ने छ । बेरोजगार र युवा वर्ग लक्षित कार्यक्रम अघि बढाउन छ । नगरपालिकाको सेवा प्रवाह चुस्त बनाई सुशासन कायम गराउने मेरो प्राथामिकताको विषय हो । समग्रमा देशकै नमुना नगरपालिका बनाउने उद्देश्य हाम्रो छ ।
यस्तै प्रतिबद्धता अघिल्लो पटक एमालेले पनि गरेको थियो । तर कार्यान्वय नभएको जन गुनासो छ नि ?
उहाँहरुले घोषित प्रतिबद्धताको कार्यन्वयन नै गर्नु भएन । जनताले नगरपालिका छ भन्ने अनुभुति समेत गर्न पाएनन् । एमालेले कामै गरेन, त्यसैले अब हाम्रो पालो हो, हामी गर्छौ । काम गर्ने इच्छा शक्ति भएकैले उम्मेदवार भएर मत मागिरहेका छौं । एमालेको परिक्षण भइसक्यो, असफल भएकाले अब हाम्रो पालो हो ।
मतदाताको मनस्थीति कस्तो पाउनु भएको छ ?
मतदाता कांग्रेसको पक्षमा छन् । कांग्रेसको नेतृत्व नहुँदा नगरबासीका समस्या सम्बोधन भएन भन्ने उहाँहरुको बुझाई छ । हामी मेयर, उपमेयरसहित अधिकांश वडामा जित हासिल गर्छौ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
