Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोरोनाका कारण चलचित्र ‘नीरफूल’को पनि रिलिज स्थगित


  • बुधबार, फाल्गुन २८ २०७६

  • कोरोनाका कारण चलचित्र ‘नीरफूल’को पनि रिलिज स्थगित
    काठमाडौं– फिल्म ‘नीरफूल’को रिलिज स्थगित भएको छ । विश्वव्यापी रुपमा बढ्दै गइरहेको कोरोना भाइरस संक्रमणको कारण चैत ७ गते फिल्म रिलिज नहुने निर्माण टिमले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।
    ‘सर्वसाधारणको स्वास्थ्यलाई ख्याल गरि सरकारले समेत सार्वजनिक भेला, सभा, समारोह तथा कार्यक्रम नगर्न आव्हान गरिरहेको बेला हामीले पनि फिल्मको सार्वजनिक प्रदर्शन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेका छौं’, विज्ञप्तिमा भनिएको छ, ‘यसबाट दर्शक महानुभावको निरन्तर पर्खाइ र अपेक्षामा पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं । विश्वव्यापी महामारीको यस्तो प्रतिकुल अवस्थामा मनोरञ्जन भन्दा नागरिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
    संचारकर्मी तथा कवि फूलमान वलको निर्देशन रहेको फिल्म ‘नीरफूल’को हालै ट्रेलर रिलिज गरिएको थियो । स्थिति सामान्य भएपछि नयाँ प्रदर्शन मिति घोषणा गरिने बताइएको छ । महाभुकम्पमा विछोडिएको एउटा परिवारको प्रेमकथा समेटिएको फिल्म सेलो प्रोडक्सनले निर्माण गरेको हो । कार्यकारी निर्माता सोनाम डोमा रहेकी छन् भने निर्माताको रुपमा विभिन्न मुलुकका गैरआवसीय नेपालीहरुले सघाएका छन् ।
    फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् । फिल्मको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् ।
    फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् । निर्माताको रुपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् । प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत रहेको फिल्मको सम्पादन निमेष श्रेष्ठ र वितरक गोविन्द शाही र मनोज राठी रहेका छन् ।  

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij