‘के भुल भयो प्रिया मसँग बोल्दिनौ
उज्यालो जुन उघार्दै पर्दा रातको खोल्दिनौ…’
यो कालजायी गीतका श्रष्टा नरेन्द्र प्यासी बिहिबार काठमाडौंमा एकल साँझ लिएर दर्शकमाझ आए ।
उनले यही गीतबाट एकल साँझ ‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’ सुरु गरेका थिए । अग्रज गीतकार एबम् चलचित्र निर्देशक यादव खरेलको आतिथ्यमा सुरु भएको एकल साँझमा प्यासीले आफ्ना १४ ओटा गीत प्रस्तुत गरे ।
कार्यक्रममा उनले एकपछि अर्को गर्दै आफ्ना हिट गीतहरु सुनाए । करिब दुई घन्टाको बसाईमा दर्शकले यी गायकका लोकप्रिय गीतमा रम्दै निरन्तर तालीले साथ दिए ।
के भुल भयो प्रिया…गीतबाट कार्यक्रम सुरु गरेका गायक प्यासीले दोश्रो गीत गाउनु अघि नै दर्शक दीर्घाबाट वान्स मोरको आवाज आयो । अरु पनि आफ्ना लोकप्रिय गीतहरु छन भन्दै उनले दोश्रो गीत तिमीले दिने मायाँ…गाए । यो गीतमा उनलाई महिला स्वरमा शिला बिष्टले साथ दिईन् ।
एकपछि अर्को गर्दै गायक प्यासीले तिमी विनाको जीवन…, तिम्रो दिलमा चोट लाग्दा…, म त तिम्रो मान्छे बन्न सकिन… जस्ता चर्चित गीतहरु सुनाए ।
आफ्नो एकल साँझलाई निरन्तरता दिने क्रममा गायक प्यासीले एउटा परदेशी आयो…, मनलाई…, माया ओ माया…, जाम क्यारे उडेर…, मेहफिलमा आज…, नजर पापी…, चन्द्रमाले…, फुलको दीलमा पनि…, काठमाडौं छुट्यो हेर्दा हेर्दै…जस्ता चर्चित गीतहरु गाए ।
आफ्ना प्रथम संगीत गुरु अम्बर गुरुङ सहित अग्रज कलाकारप्रति साँझलाई समर्पण गर्दै गायक प्यासीले एकलसाँझ सुरु गरेका थिए ।
‘नरेन्द्र प्यासी एकल साँगीतिक साँझ–२०७५’मा गायक प्यासीलाई प्रत्यक्ष बादबादनमा दिनेशराज रेग्मी, दीपक थापा, सुरज प्रधान, अनुप दास, कुमार महाराज, भरत बुढाथोकी, सुधिर चौधरी, रविन कार्की, रुपेस सिंह, रत्न विक र भुवन गन्धर्वले साथ दिएका थिए ।
बिगत ६ वर्षदेखि अमेरिका बस्दै आएका गायक प्यासी यही एकल साँझका लागि काठमाडौं आएका हुन् । यो एकलसाँझ आफुले सोचेको भन्दै निकै सफल भएको गायक प्यासीले कार्यक्रममा बताए ।
सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरले आयोजना गरेको सो कार्यक्रममा संस्थानका तर्फबाट गायक प्यासीलाई सम्मानित गरिएको थियो । नेपाली गायन क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि सुगम सँगीतबाट योगदान पु¥याएको भन्दै एकलसाँझको आयोजना सहित प्यासीलाई सम्मानित गरिएको संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।
यस्तै संस्थानका अध्यक्ष उधोग राईले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमका उदृेश्यबारे प्रकाश पारे ।
गायक प्यासीको बारेमा सांस्कृतिक संस्थानका बरिष्ट नाटक प्रबन्धक प्रभाकरदेव शर्माले कार्यक्रममा प्रकाश पारेका थिए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
