पोखरा– नेपाली फिल्म ‘रणवीर’को टोलीपोखरा आईपुगेको छ । माघ १८ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘रणवीर’ यति बेला प्रचारको दौडमा छ ।
पोखरा आईपुगेको फिल्मको यूनिटले ‘रणवीर’ फिल्म दर्शकको लागि सम्पूर्ण प्याकेज भएको दाबी गरेको छ । ‘यो फिल्म हेर्दा दर्शकले पुरै मनोरञ्जन लिन सक्नुहुनेछ । र, हामीले दर्शकको सन्तुष्टिको लागिफिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर छाडेका छैनौँ ।’ फिल्मका निर्देशक गोबिन्द सिंह भण्डारीले भने–‘हामी सबैलाई यो फिल्म हेर्नका लागि आह्वान गर्छौँ ।’
फिल्मको ट्रेलर सार्वजनिक भएसँगै यो फिल्म ‘साउथ इन्डियन’ शैलीमा बनेको भनेर चर्चा गरिएको छ । यद्यपी फिल्मका निर्देशकले भने यो फिल्ममा नेपालको सुदुरपश्चिम भेगको कथालाई समेटिएको बताउँछन् । ‘वास्तवमा भन्ने हो भने मैले थुप्रै साउथ इन्डियन फिल्महरुमा सहायक निर्देशक भएर काम गरिसकेको छु । र, त्यहि स्कुलिङबाट आएकोले फिल्म सोहि शैलीमा बनाएको हुँ ।’ उनले भने–‘फिल्मको यो शैलीलाई नेपाली दर्शकले रुचाएको पनि पाएको छु । आशा छ रणवीरलाई पनि रुचाईदिनु हुनेछ ।’
फिल्ममा सुशिल सिटौला मूख्य भुमिकामा देखिएका छन् । उनीसँगै सुभेच्छा खड्का र सुपुष्पा भट्ट यो फिल्मका मुख्य कलाकार हुन् । फिल्ममा प्रशान्त ताम्राकार सुशिलको अपोजिटमा देखिएका छन् । प्रशान्त र सुशिलबीचको भिडन्त दर्शकको लागि गज्जबको मनोरञ्जन हुने यो फिल्मको निर्माण यूनिटको विश्वास छ ।
शनिबार पोखरामा भएको विशेष पत्रकार भेटघाटको क्रममा अभिनेता सुशिल सिटौलाले फिल्मका लागि आफूले खुब मेहेनत गरेको बताए । ‘मलाई फुलफेजमा एउटा हिरोको रुपमा यो फिल्ममा देखाईएको छ । यो मेरो करिअरको लागि सबैभन्दा महत्वपूर्ण अवसर हो । दर्शकलाई निराश हुन दिनेछैन ।’ अभिनेता सुशिलले भने ।
त्यस्तै अभिनेत्रीद्वय सुभेच्छा र सुपुष्पाले पनि फिल्म हेरि दिन दर्शकहरुसँग आग्रह गरे । आफूहरु दुवैको लागि यो फिल्म डेब्यू हुनुका साथै विशेष भएको उनीहरुको तर्क थियो । दर्शकलाई मनोरञ्जन दिनका लागि फिल्म उत्कृष्ट भएको उनीहरुले बताए ।
पत्रकार सम्मेलनमा फिल्मका निर्माताद्वय दीपेन्द्र रेग्मीर गोमा विष्ट थापाले नेपाली फिल्मको स्तरोन्नतीका लागि आफूहरु आएकोले दर्शकको साथ र मायाको आवश्यकता भएको बताए । फिल्मलाई उत्कृष्ट बनाउन आफूहरुले दिल खोलेर लगानी गरेको र त्यसको प्रतिफल पनि उत्कृष्ट आएको उनीहरुको भनाई थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
