काठमाडौं – काठमाडौं क्षेत्र नं. ५ मा चुनावी सरगर्मी बढ्दै गएको छ । स्थापित पार्टी देखी नयाँ दल र स्वतन्त्र उम्मेदवार सम्म क्षेत्र ५ मा चुनावी दौडमा देखिन्छन । संघिय सांसदमा सत्ता गठवन्धन दलवाट यस क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवारी दिने निश्चित जस्तै देखिएको छ भने एमालेबाट वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल उम्मेवार बन्दै छन ।
कलाकार मदुसुदन पाठक देखि रञ्जु दर्शना सम्मले चुनाव लड्न क्षेत्र नं . ५ नै रोजेका छन । एमाले पृष्ठभूमिका शिक्षाविद् डा. गोपीलाल न्यौपाने पनि क्षेत्र नं. ५ मा उम्मेदवारी दिने तयारीमा छन ।
नेपाली कांग्रेसबाट क्षेत्र नं . ५ मा को उम्मेदवार बन्छ भन्ने स्पष्ट भइसकेको छैन । पार्टी प्रवक्ता डा. प्रकाशशरण महत लडेको क्षेत्र भएकाले उनी नै गठवन्धनवाट उम्मेदवार हुने सम्भावना पनि छ ।
डा.महत नुवाकोट क्षेत्र १ वाट चुनाव लड्ने चर्चा पनि चलेकाले क्षेत्र भन्दा बाहिरका केन्द्रीय नेता वा बुद्धिजीवी चुनाव लड्न आउने चर्चा पनि कांग्रेस वृत्तमा देखिन्छ ।
प्रवक्ता महत क्षेत्र नं.५ मा चुनाव नलडे वाहिरवाट आएका उम्मेदवारलाई स्वीकार गर्न नसकिने स्थानिय नेताहरुको भनाई छ । काठमाडौं कांग्रेसका पुराना र प्रतिवन्धित अवस्था देखि नै संघर्ष गरेका नेता श्रीविनोद भट्टराई प्रवक्ता महत नै लडे उचित हुने बताउँछन ।
उनी भन्छन -“यस क्षेत्रमा हामी प्रवक्ता महत नै चुनावमा उठ्नु हुन्छ भन्ने अपेच्क्षामा छौ, उहाँ उठ्नु भएन भने क्षेत्रमा नै चुनाव जित्न सक्ने सक्षम नेता छन, क्षेत्रकै नेतालाई उठाएर चुनाव जिताउँछौ ।”
महत नउठेको खण्डमा स्थानिय नेतानै हुनु पर्छ भन्नेमा क्षेत्रभरका कार्यकर्ता एक मत रहेको भट्टराईको भनाई छ ।
प्रतिवन्धित अवस्था देखि नै कांग्रेसमा संघर्ष गरेका पुराना नेता श्यामबहादुर खड्का पनि पार्टी प्रवक्ता नउठेमा स्थानिय नेतानै चुनव जित्न सक्षम हुने बताउँछन ।
खड्का भन्छन – “यस क्षेत्रले प्रतिवन्धित अवस्था देखि नै राष्ट्रिय राजनितिमा महत्वपूर्ण योगदान पुऱ्याउँदै आएको छ । त्यसैले क्षेत्रकै नेतालाई उम्मेदवार बनाए जित्न सकिनेमा म विश्वस्त छु ।”
क्षेत्र नं.५ मा कांग्रेसको संगठन बलियो रहेको खड्काको दावी छ । डा.महत नआए क्षेत्रकै नेता चुनावमा खडा हुनपर्छ भन्ने चाहना कार्यकर्ताको मात्र नभएर मतदाताको समेत भएको नेता खड्का बताउँछन । “कार्यकर्ता र मतदाताको चाहना विपरितको उम्मेदवार स्वीकार्न सकिदैन”- खड्का भन्छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
