काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचन आफूहरूका लागि सामान्य नरहेको बताएका छन् ।
चितवनको माडीमा बिहीबार आयोजित कार्यक्रममा प्रचण्डले भने, “निर्वाचन आउँछ जान्छ, जित र हार हुन्छ । तर, हाम्रो लागि यो निर्वाचन सामान्य चुनाव मात्र होइन, माओवादीले जित्दा मात्र संघीयता, लोकतन्त्र, गणतन्त्रको रक्षा हुनेछ ।”
उनले तत्कालीन नेकपा विवादमा निर्वाचन आयोगले तत्काल सनाखत गरेको भए नेकपा (एमाले) भन्ने पार्टी नै अहिले नहुने जिकिर समेत गरे ।
“निर्वाचन आयोगले तुरुन्त सनाखत गरेको भए एमाले भन्ने पार्टी रहने थिएन । हामी नेकपाका आधिकारिक नेता–कार्यकर्ता हुन्थ्यौँ । तर, देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्रमा यसलाई उल्ट्याइयो । त्यसपछि दुईपटकका प्रतिगमनलाई हामीले आन्दोलनबाट पराजित गर्यौँ,” उनले भने, “आज पनि त्यो शक्तिले षड्यन्त्र जारी राखेको छ । आज पनि सदन चल्न दिइएको छैन । त्यो प्रतिगमनकै एउटा कडी हो ।”
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
