Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

इरान फिफा विश्वकप-२०२२ का लागि छनोट


  • शुक्रबार, माघ १४ २०७८

  • इरान फिफा विश्वकप-२०२२ का लागि छनोट

    काठमाडौं – इरान आगामी नोभेम्बर महिनामा कतारमा आयोजना हुने फिफा विश्वकप-२०२२ का लागि छनोट भएको छ ।

    कतार विश्वकपको लागि एसियाली क्षेत्रको तेस्रो चरणमा छिमेकी इराकलाई १-० ले पराजित गर्दै इरान विश्वकपमा छनोट हुने पहिलो एसियाली राष्ट्र बनेको हो ।

    तेहरानस्थित आजादी स्टेडियममा इरानलाई जिताउन मेहदी तारेमीले ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गरेका थिए ।

    तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ मा रहेको इरानले ७ खेलबाट अपराजित रहँदै १९ अंक जोडेको छ । हाल शीर्ष स्थानमा रहेको इरान शीर्ष दुईमा रहने पक्का छ ।

    एसियाली क्षेत्रको तेस्रो चरणको छनोट अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’को शीर्ष स्थानमा रहने दुई टिम सिधै विश्वकपका लागि छनोट हुनेछन् । इरानले बाँकी दुई खेल हारे पनि शीर्ष दुईमै रहने भएकाले विश्वकपमा स्थान पक्का गरेको हो ।

    यसै समूहको अर्को खेलमा लेवनानलाई १-० ले हराउँदै दक्षिण कोरिया १७ अंकसहित दोस्रो स्थानमा छ । दक्षिण कोरियालाई अब छनोट हुन एक जित आवश्यक छ ।

    यस्तै सिरियालाई २-० ले पराजित गर्दै ९ अंक जोडेको युएई तेस्रो स्थानमा छ । यसैगरी छनोटको समूह ‘बी’ मा अष्ट्रेलिया र जापानले जित हात पारेका छन् । अष्ट्रेलियाले भियतनामलाई ४-० र जापानले चीनलाई २-० ले हरायो ।

    जापान ७ खेलबाट १५ अंकसहित दोस्रो स्थानमा छ भने समान खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । साउदी अरेबिया शीर्ष स्थानमा छ । यस समूहबाट तीन टिम सिधै विश्वकप छनोट हुने होडमा छन् ।

    आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि अहिलेसम्म आयोजक कतारसहित १४ राष्ट्र छनोट भइसकेका छन् ।

    कतार आयोजकका रुपमा सिधै विश्वकपमा छनोट भएको हो भने बाँकी १३ राष्ट्र छनोट चरण पार गर्दै विश्वकपमा स्थान पक्का गरेका हुन् । अब १८ राष्ट्र छनोट हुन बाँकी छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij