२०३६ सालमा राजा विरेन्द्रले सुधारिएको पञ्चायत कि बहुदलिय व्यवस्था लागु गर्ने भन्दै जनमत संग्रह गरे । राजनीति बहुदल पक्षधर र पञ्चायत पक्षधर दुई कित्तामा विभाजित थियो । कांग्रेसका संस्थापक नेता विपि कोइरालाले बहुदल पक्षधरको नेतृत्व गरेका थिए । त्यहि जनमत संग्रहमा बहुदलको पक्षमा सक्रिय थिए, दामोदर खड्का ।
बहुदल पक्षलाई नियोजित रुपमा हराइयो । पञ्चायति व्यवस्थाले निरन्तरता पायो । विपी कोइरालाको निधन पछि पनि कांग्रेसले पञ्चायत विरोधी अभियान जारी राख्यो । त्यो आन्दोलनमा खड्का निरन्तर सक्रिय थिए । सर्वोच्च नेता गणेशमान शिंहको नेतृत्वमा भएको २०४६ सालको आन्दोलनमा त उनी पक्राउ नै परे ।
संघर्षबाट राजनीतिक यात्रा प्रारम्भ गरेका खड्का ०६२÷६३ को जनआन्दोलनसम्म पनि लोकतन्त्रको पक्षमा अविचलित अघि बढी रहे । पार्टीमा तत्कालिन विष्णु गाविसको इकाई सभापती, क्षेत्रिय सदस्य, क्षेत्रिय सहसचिव, क्षेत्रिय सचिव हुँदै २०५३ सालमा पार्टीको महाधिवेशन प्रतिनिधि भए । अहिले पार्टीको निति निर्माण गर्न महासमिति सदस्य रहेका खड्काले पार्टीले दिएको भुमिका र जिम्मेवारी कुशलतापूर्वक निवार्ह गरे ।
कांग्रेसको राजनीतिमा सिद्धान्त र बैचारिक पक्षलाई महत्व दिने खड्का पार्टीको १४ औं महाधिवेशनमा काठमाडौं जिल्ला सभापतिको दावेदारको रुपा खडा भएका छन् ।
लामो समय राजनीतिक गतिविधमा संलग्न खड्काले कानुन व्यवसायीका रुपमा समेत आफ्नो परिचय बनाएका छन् । करिब तिन वर्ष अघि वरिष्ठ अधिवक्ता बनेका खड्का कानुनका ज्ञाता पनि हुन ।
विपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादका पक्षधर खड्का पार्टीमा बैचारिक बहस र मन्थनको आवश्यकता रहेको बताउँछन् । पार्टीमा पदको प्रतिस्पर्धाले सिद्धान्त र बैचारिक पक्षले उचित स्थान पाउन नसकेको उनको अनुभव छ ।
काठमाडौंको कांग्रेस राजनीतिमा परिचित मात्र होइन, राम्रो छवि पनि उनले बनाएका छन् । पार्टीमा लामो समय विभिन्न भुमिकामा रहेर योगदान गरेकाले काठमाडौं जिल्ला सभापतिमा उनको दावि स्वभाविक मानिएको छ । उनी पनि पार्टीको प्रतिनिधिहरुले आफुलाई न्याय गर्नेमा विश्वस्त छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
