काठमाडौँ – नेपाल भलिबल संघ (एनभीए)ले छैटाँै संस्करणको प्रतियोगिता असोज दोस्रो साताबाट सुरू हुने जनाएको छ । बुधबार एनभीएले पत्रकार सम्मेलन आयोजना गर्दै महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप १०–१६ असोजमा आयोजना हुने बताएको हो ।
संघले च्याम्पियनसिपबाट छनोट हुने टोलीबीच चैतमा महिला तथा पुरुष भलिबल लिग आयोजना गर्ने बताएको छ । ‘संघले नेपालमा भलिबलका खेलको व्यावसायिक विकासको लागि क्लब च्याम्पियनसीप अवधारणा अपनाइ यस क्लब च्याम्पियनसीपबाट उत्कृष्ठ सातवटा पुरुष र पाँचवटा महिला टिम रेनकिङको आधारमा छुटाई आगामी चैत्रमा आयोजना गरिने छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा सहभागी गराइने छ’, संघले भनेको छ ।
यस प्रतियोगितामा विभिन्न प्रदेशबाट पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोटर्स क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन क्लब, एपीएफ क्बल, ढोरपाटन स्पोर्ट्स क्लब, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, बागमती प्रदेश, दावाली मिलन क्लब, नयाँ बजार सामाजिक क्लब र कर्णाली प्रदेश गरी १२ टिमको सहभागिता रहने छ ।
त्यस्तै महिलातर्फ होङवाइन्जी न्यू डाइमण्ड क्लब, नेपाल प्रहरी, नेपाली सेनाको त्रिभुवन क्लब, एपीएफ क्लब, एभरेष्ट क्लब बुटवल, ढोरपाटन स्पोर्ट्स क्लब गरी ६ टिमको सहभागिता रहने छ ।
सघले विगतको वर्षभन्दा यसवर्ष थप पुरस्कार व्यवस्थापन गरी दुवै विधातर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमलाई क्रमशः चार लाख, दुई लाख र एक लाख रुपैयाँ प्रदान गरिने बताएको छ।
त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई २५/२५ हजार रुपैयाँ र दुवै विधातर्फ उत्कृष्ट सरभर, लिंबेरो, ब्लकर, स्पाइकर, सेटर र प्रशिक्षकलाई जनही १०/१० हजार रुपैयाँ प्रदान गरिने जानकारी गराइएको छ ।
संघका महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिता समापन गर्न ३८ देखि ४० लाख रुपैयाँ खर्च लाग्ने बताएका छन् । उनले काठमाडौं महानगरपालिकाबाट प्रतियोगिता आयोजनाको लागि १५ लाख सहयोग भएको जानकारी दिए । – न्युज कारखाना
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
