Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कोभिड महामारी नियन्त्रण अभियानमा जुट्ने एमाले माधव – खनाल समूहको निर्णय


  • बुधबार, बैशाख १५ २०७८

  • कोभिड महामारी नियन्त्रण अभियानमा जुट्ने एमाले माधव – खनाल समूहको निर्णय

    काठमाडौँ – नेकपा (एमाले) माधव – खनाल समूहको स्थायी कमिटीको बैठक काठमाडौंमा बस्यो । बैठकमा पछिल्लो समयमा बिकसित राजनीतिक परिस्थिति र नयाँ प्रकार (भेरियन्ट) सहितको कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट उत्पन्न भयावह अवस्थाको बिषयमा गम्भीर छलफल गरेको छ । बैठकले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनु भएका नेपाली दिदीवहिनी तथा दाजुभाइहरुप्रति श्रद्धाञ्जली र संक्रमतिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमतिहरुको उपचारका लागि प्रभावकारी रुपमा थप कदम अबिलम्ब चाल्न सरकारको गम्भीर ध्यानाकर्षण गरेको छ । संक्रमण तीब्र रुपमा फैलिरहेको र संक्रमितको मृत्यु बढिरहेको अवस्थामा सीमानाकामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गरिदा कोरोना महामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको पालना नहुँदा थप जोखिम पैदा भएको छ । तसर्थ सिमानामा आवतजावत र विभिन्न माध्यमबाट नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण, क्वारेन्टिन बसाई र जारी स्वास्थ्य मापदण्डको पालना अनिवार्य रुपमा गराउन सरकारको ध्यानाकर्षण गरेको छ ।

    स्थानीयस्तरमा आइसोलेसन र क्वारेन्टिनको प्रभावकारी व्यवस्थापन नहुँदा कोभिड–१९ को संक्रमण तिव्र रुपमा समुदायस्तरमा फैलिने जोखिम बढेको छ । यो जोखिमलाई मध्यनजर गर्दै तीनै तहका सरकारको सक्रियता र समन्वयमा तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन तीव्रतापूर्वक गर्दै समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन बैठकेले माग गरेको छ ।

    बैठकले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका लागि खटिएका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षा सामग्री र जोखिम भत्ता उपलब्ध गराउन माग गरेको छ । संक्रमितहरुको उपचारका लागि ‘कोरोना डेडिकेटेड अस्पताल’को थप व्यवस्था गर्दे सम्पूर्ण अस्पतालहरुमा आइसियु, भेन्टिलेटरको व्यवस्थापन, औषधी भण्डारण र अक्सिजन प्लान्ट लगायत सम्पूर्ण स्वास्थ्य सामग्री पयापर््त मात्रामा व्यवस्था गर्न माग गरेको छ । बन्दाबन्दीको अवस्थामा आम सर्वसाधारणहरुलाई आइपर्ने समस्याप्रति गम्भीर रहन र समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउन बैठकले माग गरेको छ ।

    बैठकले नेकपा (एमाले) को सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरुलाई कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचारका लागि तीनै तहका सरकारसँग आवश्यक समन्वय गर्दे सक्रिय रुपमा स्वयंसेवी भूमिकाका साथ कोभिड–१९ को लडाइँमा सहभागी हुन आह्वान गरेको छ । स्थानीयस्तरमा क्वारेन्टिन निर्माण गर्न, क्वारेन्टिन व्यवस्थापन गर्न, स्वास्थ्य मापदण्ड पालनाका लागि अनुगमन, समुदायस्तरमा सचेतना अभियान, संक्रमितहरुको उपचारमा आवश्यक सहयोग लगायतका काममा सक्रिय रहन सम्पूर्ण कमिटी र सदस्यहरुलाई अपिल गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij