Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास भयो – प्रचण्ड


  • शुक्रबार, फाल्गुन २८ २०७७

  • जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास भयो – प्रचण्ड

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले नेपालमा परिवर्तनलाई उल्ट्याउन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन, दलित, जनजातिका अधिकारलाई उल्ट्याउन निकै ठुलो षड्यन्त्र भएको छ । संघीयता, गणतन्त्र, समावेशीताका पक्षमा दृढतापूर्वक उभिएकै कारण आफूलाई अहिले निशाना बनाइएको आरोप लगाएका छन् ।
    शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी नचाहेका यथास्थितिवादी पक्षले २०६२÷०६३ को जनआन्दोलनबाट हासिल राजनीतिक परिवर्तनलाई उल्टाउने प्रयास गरिरहेको प्रस्ट पारे ।
    ‘परिवर्तनका पक्षपाती, परिवर्तनका लागि संघर्ष गर्ने नेताहरुलाई बदनाम गर्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘विस्तृत शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित हुनुहुन्न, अर्को हस्ताक्षरकर्ता म जीवित छु । शान्ति सम्झौतापछि हासिल भएको यो परिवर्तनलाई उल्ट्याउन मविरुद्ध हमला भइरहेको मैले महसुस गरिरहेको छु ।

    अहिले देशमा संविधानलाई रक्षा गर्ने कि हत्या गर्ने भन्ने बहस सुरु भएको प्रचण्डले प्रस्ट पारे । दलित, जनजातिका लागि जति अधिकार छ, तिनलाई विकसित गर्दै लैजाने कि अन्त्य गर्ने भन्ने कुरा पनि अहिले मुख्य रुपमा उठ्न थालेको उनको भनाइ छ ।
    ती अधिकारको रक्षाका लागि जरुरी परेमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्छ भन्ने अपिल गर्दै उनले झण्डै ७० वर्षदेखि लोकतन्त्र, संविधानवाद, गणतन्त्रका लागि नेपाली जनताले संघर्ष गर्दै आएको र यसरी प्राप्त उपलब्धिलाई कुनै पनि हालतमा आफूहरुले रक्षा गर्ने बताए । ‘फेरि विद्रोह वा फेरि हिंसाको कुरा गरेको होइन, कोही कसैमा भ्रम नपरोस्,’ उनले भने, ‘लडेर ल्याएका उपलब्धिलाई कुनै प्रतिगामीले कुल्चिन नपाओस् भनेर शान्तिपूर्ण क्रान्ति गर्नुपर्छ, रंगिन क्रान्ति ।’
    यस्तो क्रान्ति सबै तह र तप्काका नागरिक सडकमा निस्किएर शान्तिपूर्ण रुपमै सफल पार्न सकिने उनले बताए ।
    गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक मन नपराउने नेपालभित्रकै केही र विदेशी प्रतिक्रियावादी शक्तिहरु मिलेर यो परिवर्तनलाई उल्टाइछाड्ने कसरत भइरहेको उनले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij