काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेको भन्दै प्रचण्डले त्यसलाई सुधार गर्ने बताएका छन् । नयाँ मान्छे खोज्छौं भन्दा पुराना साथीहरु छुटेको पक्कै हो, अब चाहिँ त्यसलाई उल्ट्याएर सच्याउने प्रतिवद्धता मैले आफैंले गरेको छु । माओवादी निकट स्वास्थ्यकर्मीहरुको कार्यक्रममा उनले उमेर ढल्किदै गए पनि अहिले आफू चुप लागेर नबस्ने बताए ।
उनले अब २–४ वर्ष काठमाडौं भन्दा बाहिर पार्टी अभियानमा बढी समय बिताउने योजना रहेको पनि बताए । ‘फेरि २–४ वर्ष जनताका बीचमा गएर अभियान सञ्चालन गर्ने मनस्थितिमा छु, किनभने प्रतिक्रियावादीहरुले देशभित्रका र बाहिरकाले निकै ठूलो षड्यन्त्र गरे हाम्रो राष्ट्र, हाम्रो आन्दोलन र उपलब्धीमाथि धावा बोल्ने कोसिश गरेका छन्’ उनले भने ।
‘जनयुद्ध सुरु गर्दा ४२ वर्षको थिएँ, अहिले ६६–६७ वर्ष भएँ । उमेरले कति साथ दिन्छ छोडिदिनुपर्छ पनि भन्छन्, तर म छाड्नेवाला छैन, माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेका थिए’ उनले भने, ‘म एक पटक फेरि क्रान्तिमा अगाडि जानेमा छु । म छोड्नेवाला छैन, म लड्नेवाला छु ।’
उनले अघि भने, ‘आफ्नै शक्तिमा भर परेर, आफ्नै खुट्टामा उभिएर मात्र यसलाई परास्त गर्न सकिन्छ ।’ उनले एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने आफूले संकल्प गरेको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
