स्पेनिस महारथी क्लब बार्सिलोनाका कप्तान लिओलन मेसीलाई दुई खेलको प्रतिबन्ध लगाइएको छ। स्पेनिस सुपर कपअन्तर्गत आइतबार भएको एथ्लेटिक क्लबविरुद्धको उपाधि भिडन्तमा मेसीले रातो कार्ड पाएका थिए।
थप समयमा धकेलिएको खेलमा बार्सिलोना ३-२ गोल पराजित हुँदा उपाधिबाट बिमुख भएको थियो। बार्सिलोनाले दुई पटक अग्रता लिए पनि जोगाउन सकेको थिएन। थप समयको अन्तिम मिनेटमा मेसीले एथ्लेटिकका एसियर भिल्लालिब्रेलाई तानेका थिए। त्यसपछि भिएआर रिभ्यू हेर्दै रेफ्रीले मेसीलाई सिधा रातो कार्ड देखाएका थिए।
सो रातो कार्ड मेसीले बार्सिलोनाको करिअरमा पाएको पहिलो रातो कार्ड हो। ३३ वर्षीय अर्जेन्टाइन फरवार्ड मेसीले बार्सिलोनाबाट ७५२ खेल खेल्दासम्म रातो कार्ड पाएका थिएनन्। खेलमा मेसीले जानाजान एथ्लेटिकका खेलाडीलाई तानेको विषयमा अनुसन्धान गर्दै स्पेनिस फुटबल फेडेरेसनको अनुसासन समितिले २ खेलको प्रतिबन्ध लगाएको हो।
प्रतिबन्ध लगाएपछि बार्सिलोनाले अपिल गर्ने भएको छ। मेसीले ‘खेलको दौरान हिंसात्मक व्यवहार’ देखाएको विषयमा अनुन्धान भएको थियो। दोषी ठहर भए २ देखि ३ खेलसम्म प्रतिबन्ध लगाउन सकिने नियम छ। दुई खेल प्रतिबन्ध लगाएसँगै मेसीले बिहीबार कोपा डेल रेअन्तर्गत कोर्नेलाविरुद्धको अन्तिम ३२ को खेल र आइतबार ला लिगाअन्तर्गत इल्चेविरुद्धको खेल गुमाउनेछन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
