काठमाडौं– उर्जा मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य वर्षमान पुनले युवाहरु सरकार र पार्टीको नेतृत्व लिन तयार रहेको बताएका छन् । तर, नेकपाका दुवै अध्यक्षले सहमतिमा यो कुराको निर्णय गर्नुपर्ने उनले बताए ।
सोमबाररोल्पा नगरपालिका–३ लाँकुरीमा ३३/११ केभी सबस्टेशनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पुनले दोस्रो पुस्ता पार्टी र सरकारको नेतृत्व गर्न तयार रहेको बताएका हुन्। ‘दुबै अध्यक्षले हामी प्रधानमन्त्री र पार्टी अध्यक्ष छाड्छौं र युवा पुस्तालाई नेतृत्व दिन तयार छौं भनेर निर्णय गर्नुस् हामी दोस्रो पुस्ताका नेता अध्यक्ष र प्रधानमन्त्री चलाउन तयार छौ,’ उनले भने ‘उहाँहरूले भन्न सक्नपर्छ। हामी उहाँहरूलाई अभिभावक मान्न तयार छौं। तर यो आवेग र उत्तेजनामा आएर गर्ने होइन। हामीले विधिसम्मत ढंगले टुंगो लगाउनु पर्छ। हामी त्यसका लागि तयार छौ।’
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अब पार्टीको नेतृत्व युवालाई हस्तान्तरण गर्ने प्रस्ताव ल्याएको सन्दर्भमा नेता पुनले गृहजिल्ला रोल्पाबाट यो अभिव्यक्ति दिएका हुन् ।
हाल नेकपाभित्रको पछिल्लो बहसले सिंगो देशको राजनीति नै प्रभावित भएको जस्तो देखिएको भन्दै उनले यसबाट पार्टी एकता कमजोर नहुने दाबी गरे । यसले एकतालाई झन् बलियो बनाउने उनको विश्वास छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
