Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

गोयवल्स शैलीका प्रोपोगन्डाहरुबाट भ्रममा नपर्न कांग्रेसको आग्रह (विज्ञप्ती सहित)


  • बुधबार, जेष्ठ १४ २०७७

  • गोयवल्स शैलीका प्रोपोगन्डाहरुबाट भ्रममा नपर्न कांग्रेसको आग्रह (विज्ञप्ती सहित)

    काठमाडौं – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले संसदको कार्यसुचिवाट संविधान संशोधन सम्बन्धी प्रस्ताव हटाएको विषयमा आफ्नो पार्टीलाई जोडेको प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञाती जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका छन । कांग्रेसद्वारा जारी विज्ञप्ती यस्तो छ ।जेठ १४, २०७७

    संसदको कार्यसूचीबाट संशोधन प्रस्ताव हटाइएको बिषयमा
    नेपाली कांग्रेसलाई जोड्नु निन्दनीय र आपत्तिजनक ।

    प्रतिनिधिसभाको आजको बैठकको कार्यसूचीबाट ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको बिधेयक’ हटाइएको बिषय र त्यसमा नेपाली कांग्रेसलाई जोडेर प्रेषित गरिएका समाचारप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ ।

    अतः यस बिषयको तथ्यलाई प्रष्ट्याउने उद्देश्यले यो वक्तव्य जारी गरिएको छ ।

    (१) कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको भूगोल नेपालको भू–भाग हुन्, कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ र ती भू–भागमा नेपालको हक निर्वाध कायम हुनुपर्छ भनेर विगत देखिनै नेपाली कांग्रेसले प्रष्ट धारणा राखेको सर्वविदितै छ ।
    (२) सन् २०१५ को मे मा भारत र चीन बीच लिपुलेकको नाका बारे सहमति हुंदा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले दुवै राष्ट्रलाई प्रोटेस्ट नोट पठाएर ती भू–भाग माथि नेपालको हक रहेकोे तथ्यलाई साझा राष्ट्रिय मुद्दाका रूपमा विकसित गरेको सत्य पनि सर्वविदितै छ ।
    (३) सन् २०१९ को नोभेम्बरमा भारत सरकारले हाम्रा भू–भाग समेत समेटेर नक्सा सार्वजनिक गरेपछि त्यसप्रति सबैभन्दा अघि विरोध प्रकट गर्दै राष्ट्रिय सहमति साथ निरन्तर उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्न नेपाली कांग्रेसले नेपाल सरकारलाई निरन्तर सुझाव र दबाब दिएको तथ्य पनि सर्वविदितै छ ।
    (४) प्रधानमन्त्रीले हिजो जेठ १३ गते बोलाउनु भएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसले लिपुलेकमा भारतले बनाएको सडकप्रतिको आफ्नो प्रष्ट विरोध र नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नक्साप्रतिको आफ्नो समर्थन प्रष्ट भाषामा प्रस्तुत गरिसकेको छ ।

    यस्तो पृष्ठभूमिमा संविधान संशोधनको प्रस्तावप्रति पार्टी केन्द्रीय समितिकै बैठकबाट संस्थागत निर्णय लिइने पूर्व घोषणा सर्वदलीय बैठकमा जानकारी गराइएको बिषयलाई ‘कांग्रेसले समय मागेको’ भन्ने ढंगले उच्च तहबाट सम्प्रेषण गरिनु र आज संसदको कार्यसूचीबाट संशोधन विधेयक हटाएर त्यसको दोष नेपाली कांग्रेसलाई थोपर्न खोज्नु नियोजित, निन्दनीय र आपत्तिजनक छ ।

    * संशोधन प्रस्ताव दर्ता हुँदै गर्दा प्रतिपक्ष लगायत संसदमा रहेका कुनै पनि दलसँग परामर्श गर्ने कर्तव्य सरकारले स्मरण नगरे पनि संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने धारणामा नेपाली कांग्रेस प्रष्ट छ । प्रधानमन्त्री स्वयंले सर्वदलीय बैठकमा सर्वसम्मतिको अपेक्षा प्रस्तुत गर्नु भएको तथ्य पनि यहाँ स्मरणीय छ ।
    * तर संसदको प्रक्रियालाई अन्य कुनै कारणले मुल्तविमा राख्ने र दोष अरुलाई लगाउने प्रवृत्ति गम्भीर र खेदजनक छ । संशोधन प्रस्तावलाई संभावित कार्यसूचीबाट हटाउन न त नेपाली कांग्रेसले माग गरेको थियो न त यसको पूर्व सूचना संसदीय दलका साथीहरुलाई दिइएको थियो । त्यसैले पनि यसका पछिल्तिरको नियतप्रति सजग बन्न हामी सबैलाई सतर्क गराउन चाहन्छौं ।
    * राष्ट्रवादको अडान जिम्मेवारपूर्ण र परिणाममुखी हुनुपर्छ भन्ने मान्यता साथ पार्टी केन्द्रीय समितिको बैठकबाट नेपालको नयाँ नक्सा र संशोधन प्रस्तावमा संस्थागत निर्णय गर्न नेपाली कांग्रेस पूर्व घोषणा अनुरुप प्रतिबद्ध छ ।

    गोयवल्स शैलीका प्रोपोगन्डाहरु स्वदेशको सत्तादेखि बिदेशको संचार माध्यम जो कोहिबाट जुन रुपमा भएको होस् त्यसप्रति सजग रहंदै कुनै पनि खाले भ्रमबाट मुक्त रहन नेपाली कांग्रेस समस्त नेपाली दिदिबहिनी—दाजुभाइमा हार्दिक अपील गर्दछ ।

    जय नेपाल !

    विश्वप्रकाश शर्मा
    प्रवक्ता एवं प्रमुख
    सूचना, संचार तथा प्रचार विभाग
    नेपाली कांग्रेस

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij