Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको सम्झनामा देशभर विभिन्न कार्यक्रम


  • बुधबार, फाल्गुन १४ २०७६

  • जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेलको सम्झनामा देशभर विभिन्न कार्यक्रम

    काठमाडौं – तत्कालीन नेकपा (माओवादी) द्वारा संचालित १० वर्षे जनयुद्धका क्रममा सबैभन्दा पहिले मारिएका दिलबहादुर रम्तेलको २५औं स्मृति तथा वलिदान दिवसको सन्दर्भमा देशभर विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
    गोरखाको पुन्द्रुङस्थित ब्रम्हाचारिणी निमाविको कक्षा चारमा पढ्ने ११ वर्षीय विद्यार्थी रम्तेललाई माओवादीलाई सघाएको आरोपमा विद्यालय हाताभित्रै सुरक्षाकर्मीले हत्या गरेका थिए । तत्कालीन माओवादीले उनै रम्तेललाई जनयुद्धको पहिलो सहिदको रुपमा सम्मान गर्दछ ।

    यसै सन्दर्भमा सत्तारुढ नेकपा निकट अनेरास्ववियूले बुधबार साँझ ५ बजे २५ औं दिलबहादुर रम्तेल स्मृति तथा वलिदान दिवसको सन्दर्भमा माइतीघर मण्डललामा दीप प्रज्ज्वलन कार्यक्रम राखेको छ । रम्तेल जन्मिएको गोरखा जिल्लामा बुधबारै अनेरास्ववियू र राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम आयोजना गरेका छन् ।
    बुधबार बिहान स्वतन्त्र विद्यार्थी युनियन थापाथली क्याम्पसको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् अनेरास्ववियूका पूर्वअध्यक्ष लेखनाथ न्यौपाने, अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङ लगायतको उपस्थिति थियोे । कार्यक्रममा सहिद रम्तेलको सम्झना र योगदानको चर्चा गरिएको थियोे ।

    सोही कार्यक्रममा सहिद तथा वेपत्ता योद्धा परिवारका सदस्य सुरेन्द्र बस्नेत, योगेन्द्र बुढा, श्याम रोका, जटिल कार्की, विवेक ढकाल, प्रतिक कार्की र कमल कुंवरलाई सम्मान समेत गरिएको थापाथली क्याम्पसका स्ववियु सभापति प्रज्वल कार्कीले जानकारी दिए ।
    रम्तेल मारिएको फागुन १४ र झापा आन्दोलनमा लागेकाहरुलाई नियन्त्रणमा लिएर सुखानीको जंगलमा हत्या गरिएको दिन फागुन २१ गते एक सातासम्म तत्कालीन माओवादीहरुले ‘बलिदान दिवस’को रुपमा मनाउने गर्दछन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij