Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमसिसीमा अनावश्यक भ्रम सिर्जना भयो : थापा


  • सोमबार, फाल्गुन १२ २०७६

  • एमसिसीमा अनावश्यक भ्रम सिर्जना भयो :  थापा

    सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा सत्तारूढ दलले अनावश्यक किचलो गरेको बताएका छन् ।

    पार्टीको निर्वाचन अभिमुखीकरण भेलाका लागि सुर्खेत आएका उनले सोमबार पत्रकार भेटघाटमा सत्तारूढ दल नेकपाका नेताहरूबीचको आपसी झगडाका कारण एमसीसीमा अनावश्यक भ्रम र आशङ्का सिर्जना गरिएको आरोप लगाए ।

    अध्यक्ष थापाले एमसीसी सम्झौता हस्ताक्षरमा आफ्नो पार्टीको भूमिका भने न्यून रहेको बताए । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईदेखि वर्तमान प्रधानमन्त्री केपी ओली शर्मासम्मका सबै प्रधानमन्त्री र अर्थमन्त्रीहरु जिम्मेवार रहेको उनको भनाइ छ ।

    उनले एमसीसीमा नेकपाले द्वैध चरित्र देखाएको आरोप लगाए । ‘एमसीसी अहिलेको अवस्थासम्म आइपुग्नलाई कांग्रेस, तत्कालीन एमाले र माओवादी पार्टी उत्तिकै जिम्मेवार छन्, उहाँहरुले सम्झौताको खाका तयार गर्नुभयो, सम्झौता पनि उहाँहरुले नै गरेको हो’, पूर्वगृह तथा परराष्ट्रमन्त्रीसमेत रहेका अध्यक्ष थापाले भने, ‘अहिले नेकपाभित्रको झगडाले यसबारे विभिन्न भ्रमहरु पैदा गरिएको छ, धेरै बहस र चर्चाको विषय बनाइएको छ ।’

    उनले एमसीसीलाई अन्तिम रूप दिने काम तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहालकै पालामा भएको प्रस्ट पारे । एमसीसीलाई अनावश्यक बहसमा ल्याएर नेकपाले अस्थिर र अराजक मनस्थिति प्रदर्शन गरेको बताउँदै उनले भने, ‘एमसीसीका केही प्राविधिक विषयलाई परिमार्जन गरेर राष्ट्र हितमा लागू गर्नुको विकल्प छैन ।’

    अध्यक्ष थापाले नेकपाले राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन सकिने गरी संविधान संशोधनको गृहकार्य थालेको विषयलाई ‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ जस्तै भएको बताए । उनले भने, ‘यदि संविधान संशोधन गर्ने नै भए राजसंस्थासहितको हिन्दू राष्ट्र हुनुपर्ने जनताको चाहनालाई सम्बोधन गरौँ, यो हाम्रो पार्टीको मात्र नभइ ८० प्रतिशत जनताको चाहना हो ।’ उनले वर्तमान सरकारले भ्रष्टाचार, महँगी, कालोबजारी र विदेशी प्रभाव रोक्न नसकेको टिप्पणी गरे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij