काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसद्वारा सरकारको काम कारबाहीको निगरानी र खबरदारी गर्न बनाइएको छाया सरकारले भ्रष्टाचारविरुद्ध कडारुपमा प्रस्तुत हुने निर्णय लिएको छ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आइतबार बिहान बसेको छाया सरकारको मन्त्रिपरिषद् बैठकले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड बढी कमिसन बार्गेनिङ गरेको विषयलाई सशक्त ढंगले उठाउने निर्णय गरेको काँग्रेस राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।
आजको बैठक संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको थियो ।
काँग्रेसले बाँस्कोटाको रेक्युरिटी प्रेस खरिद प्रकरणमा भएको बार्गेनिङसम्बन्धी अडियोमा सरकार बाहिर रहेका दलहरुसँग गम्भीर ढंगले छलफल गरी साझा धारणा बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
काँग्रेसले यसबारे सोमबार अन्य दलसँग बृहद छलफल गर्ने तय गरेको छ । ०७६ सालमा पहिलो पटक बसेको छाया मन्त्रिपरिषद्को बैठकमा छाया मन्त्रीहरुले आफूले गरेका कामहरुको विवरण बैठकमा प्रस्तुत गरेका थिए ।
यस्तै बैठकले वर्तमान सरकार नीतिगत भ्रष्टाचारमा उद्धत भएको निष्कर्ष पनि निकालेको छ । गोकल बास्कोटा प्रकरण बाहिरिएको तर अन्य मन्त्रालयमा पनि अवस्था उस्तै रहेको भन्दै बैठकले यसबारे सशक्त रुपमा प्रस्तुत हुन छाया मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
यसैबीच काँग्रेसले संसदीय समितिमा पनि छाया सभापति बनाउने निर्णय गरेको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
