काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले ललित निवास जग्गा प्रकरणमा आफ्नो संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद अवरुद्ध गरेको छ ।
बुधबार मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास प्रकरणमा गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । तर कांग्रेसले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा दायर गरिएको भन्दै विरोध गरेको छ ।
बिहीबार संसदको बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्धा लगाएको बताइन् । ‘यसबाट अख्तियार जस्तो संवैधानिक आयोग पनि सरकारको लाचार छायाँ बनेको पुष्टि भएको छ’ उनले भनिन् ।
विपक्षी सांसद उभिएर संसद अवरोध गरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
