काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालको भूमि लिपुलेक हुँदै भारत र चीनले अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्न खोजेकोमा नेपाल सरकारले किन आवाज बुलंद गर्न नसकेको भन्दै प्रश्न गरेका छन्।
बिहीबार झापा पुगेका पौडेलले भने, ‘लिपुलेक त्रिदेशीय सीमानामा पर्ने नेपाली भूमि भएकोले नेपालको समेत सहभागितामा भारत र चीनले व्यापार मार्ग बनाउने सहमति गर्नुपर्ने थियो। तर नेपाललाई बाहिर राखेर सहमति गरियो।’
उनले सीमा विवाद तथा अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले कूटनीतिक तवरबाट वार्ता अघि बढाउनु पर्ने पनि बताए।
‘कूटनीतिक पहल गरेर सीमा विवाद मिलाउन नसक्ने अनि राष्ट्रवादको नारा लगाउने ?’ उनले प्रश्न गरे।
लिपुलेकमा अन्तर्राष्ट्रिय व्यापार मार्ग खोल्न भारत र चीनले केही समयअघि गरेको सहमतिका बारेमा पनि नेपाल सरकार बोल्ने बेला आएको पौडेलले बताए।
नेपालको सहमति नलिई भारत र चीनले लिपुलेकमा व्यापार मार्ग बनाउन खोजेकोले त्यसको विरोध गर्नुपर्ने उनले बताएका हुन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
