पाँचथर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा भएका सहमतिहरु कसैले नतोडेको बताएका छन् । ‘सहमति अनुसार नै हामी अगाडि बढिरहेका छौ ।
मंगलबार पाँचथरमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकताका क्रममा भएको सहमति कार्यान्वयन नभएको भए पार्टी एकता घोषणा भएर यो अवस्थासम्म नआइनपुग्ने दावी गरे । उनले मुलभूत रुपमा सहमति कार्यन्वयन गरेरै आज दुई पार्टी मिलेर नेकपा बनेको पनि बताए ।
उनले आफु र अर्का अध्यक्ष ओलीबीच सहमतिमै सबै कुरा अगाडि बढिरहेको भन्दै आगामी महाधिवेशनसम्म सहमतिकै आधारमा अघि बढ्न तयार रहेको पनि बताए । ‘मिडियामा आएका कुराहरुलाई लिएर भ्रममा नपर्न आग्रह गर्छु । हामी समझदारीबाटै अघि बढ्छौ’ प्रचण्डले भने, ‘हिजोमात्रै पनि प्रधानमन्त्रीसँग दुई घण्टा मेरो कुुराकानी भयो । वातावरण सकारात्मक छ । अब छिट्टै सहमति कार्यान्वयन हुन्छ ।’
प्रचण्डले मन्त्रिमण्डल विस्तारको कुरा प्रधानमन्त्रीको कार्यक्षेत्र भित्र पर्ने भएकाले आफुले त्यसमा केही नबोल्ने टिप्पणी गरे । उनले शान्ति प्रकृयाका बाँकी काम टुङग्याउने क्रम पनि अन्तिम चरणमा पुगेको बताए ।
‘यसका लागि प्रमुख राजनीतिक दलहरु सबै तयार छौ यो पक्रिया चाडै टुङ्गिन्छ’ प्रचण्डको भनाई छ । उनले पार्टी एकता प्रकृया ढिला भएपनि निश्कर्षमा पुगेको भन्दै पार्टी एकता प्रकृया सकिएसँगै जिल्लामा प्रशिक्षण चलाउन थालिएको र जिल्ला पछि केन्द्रमा प्रशिक्षण चलाएर सरकारको पहिलो बर्ष आधार बर्षका रुपमा लिदै आगामी बर्ष विकास र सम्मृद्धिको बर्षका रुपमा रहने विश्वास व्यक्त गरेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
