Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपालले चिनियाँ सरकारका अनुभव र कामहरुबाट सिक्न चाहेको छ – उपप्रधानमन्त्री पोख्रेल


  • सोमबार, असोज २७ २०७६

  • नेपालले चिनियाँ सरकारका अनुभव र कामहरुबाट सिक्न चाहेको छ – उपप्रधानमन्त्री पोख्रेल

    काठमाडौं– उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले नेपालले चिनियाँ सरकारका अनुभव र कामहरुबाट सिक्न चाहेको बताएका छन् ।
    सोमबार राजधानीमा सिल्क रोड युथ फोरमले गरेको ‘चाईना नेपाल युथ कर्पोरेशन कन्फ्रेन्स’ लाई सम्बोधन गर्दै उनले चीनमा पनि कम्युनिष्ट र नेपालमा पनि कम्युनिष्ट पार्टीको सरकार रहेको सन्दर्भमा सरकारले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृृत्वमा रहेको सरकारका अनुभव र कामहरु सिक्न चाहेको बताएका हुन् ।
    उपप्रधानमन्त्री पोख्रेलले जनताको स्वार्थलाई प्राथमिकतामा राख्ने विषय भने चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका कम्युनिष्ट पार्टीको साझा विषय भएको उल्लेख गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाल भ्रमणको क्रममा नेपाललाई भू– परिवेष्ठितबाट भू–जडित बनाउने अभिव्यक्ति दिएको स्मरण गर्दै उनले अब भू–जडित मुलुकको रुपमा विश्व रंगमञ्चमा नेपालले आफ्नो भूमिकालाई स्थापित गर्ने बताए ।
    चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले चिन र नेपालको पुरानो मित्रतालाई थप प्रगाढ बनाउने काम गरेको भन्दै उनले आगामी दिनमा मित्रतालाई थप उचाईमा पुर्याउने बताए । भ्रमण हुनुपूर्व कतिपयले चीन सरकारसँग के–के माग्छौ भनेर व्यंग्य गर्ने गरेको स्मरण गर्दै उनले नेपाल सरकार छिमेकी मुलुकसँगको मित्रतालाई सुदृढ गर्नुपर्छ भन्ने मान्यतामा रहेको स्पष्ट पारे ।
    उनले चिनियाँ राष्ट्रपति सीको भ्रमणका क्रममा भएका प्रतिबद्धतालाई दृढतापूर्वक कार्यान्वनय गरेर व्यवहारिक रुपमा नै दुई देशको मित्रतालाई थप सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij