Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रधानमन्त्री सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए-सभापति देउवा


  • आइतबार, साउन १९ २०७६

  • प्रधानमन्त्री  सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए-सभापति देउवा

    भक्तपुर – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एंव पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान नेकपाको सरकार दुई तिहाईको आडमा निरंकुश बन्दै गएको आरोप लगाएका छन् ।
    शनिबार भक्तपुरको कौशलटारमा लेखक दिपेन्द्रराज गिरीको पुस्तक विधाताको विमोचन गर्दै सभापति देउवाले भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गए ।’
    देश र जनताको सेवामा लाग्नु पर्ने सेना,प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाएको भन्दै उनले भने ‘तपाईहरु राष्ट्र सेवकहरु हो, तपाईंहरु कुनै सत्ता प्राप्त गर्ने पार्टीको गुलाम बन्ने होइन, व्यवसायिक भएर देश र जनताको सेवा गर्ने हो ।’ प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफू मातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको आरोप सभापति देउवाको छ ।
    ‘तपाईहरुलाई नेकपाले तलब ख्वाएको होइन, जनताको करबाट तलब खाने तपाईहरुले जनताकै पक्षमा काम गर्नुस्, साथमा हामी छौं,’ सभापति देउवाले भने । पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतिपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन निर्देशन दिएका छन् ।
    सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै उनले कांग्रेसलाई लोकतन्त्र माथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे । प्रेस स्वतन्त्रताको महत्वपूर्ण जग र नागरिकको महत्वपूर्ण अधिकार नै प्रेस भएपनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको समेत उनको भनाई छ ।
    ‘सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसदमा संर्घषरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने छ’ देउवाले भने ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij