पोखरा, नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शशांक कोइरालाले लोकतन्त्र, राष्ट्रियता र धर्मका विषयमा जनताको पूर्ण साथ रहेको बताएका छन् । नेता कोइरालाले युवा पुस्ताले गुमेको शाख जोगाउन जनतामा जानुपर्ने समय आएको उल्लेख गरे । नेपाल ट्रेड युनियन कांग्रेसको मागमा कांग्रेस सकारात्मक भएको प्रतिक्रिया दिँदै अफ्ठ्यारो स्थितिमा साथ लिने÷दिने काम भएको बताए । नेपाल ट्रेड युनियन कांग्रेस कास्कीको प्रथम छैटौं जिल्ला अधिवेशन पश्चात पहिलो जिल्ला परिषदमा नेता कोइरालाले कांग्रेस पार्टीको वर्तमान चरित्र फरक बनाउनु पर्नेमा जोड दिए । उनले कम्युनिस्ट चरित्र कांग्रेसमा पलाउँदा प्रजातन्त्र मात्र होइन देश नै संकटमा पुग्न लागेको बताए । वर्तमान सरकार इतिहाँसमै कमजोर भएको तर्क गर्दै नेता कोइरालाले शान्ति सुरक्षा, भ्रष्टाचार, दण्डहिनता, महंगी बढेको बताए । ओली सरकार नातावादमा फसेको भन्दै व्यापारी र भ्रष्टाचार गर्नमा लिप्त बनेको आरोप लगाए । विभिन्न विधेयकमा दोष देखाउँदै केन्द्रीय सदस्य कोइरालाले भेनेजुएलाका कम्युनिस्ट नेपालमा अध्ययन गर्न आउनु दुखद् भएको टिप्पणी गरे ।
नेपाल ट्रेड युनियन कांग्रेस कास्की अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको प्रथम परिषदमा कांग्रेस केन्द्रिय सदस्य चन्द्र भण्डारीले वर्तमान असन्तुष्टिलाई कांग्रेसका युवाले सम्हादै लैजाने प्रतिवद्धता व्यक्त गरे । उनले पार्टीलाई कन्फ्युजन बनाएर नेतृत्व हिँड्दा कमजोर देखिएको उल्लेख गरे । नेताहरु गुट उपगुटमा लाग्दासम्म कम्युनिस्टले राम्रो गरेर होइन कांग्रेसले कमजोर गरेर जित्ने गरेको बताए । केपी ओलीको फिल्म चल्न छोडेको प्रसंग कोट्याउँदै प्रतिरोध गर्नसक्ने क्षमता कांग्रेसले बढाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष अजयकुमार राई, कांग्रेस कास्की सभापति कृष्ण केसी, नेता मोहन ज्ञवाली, ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका इन्दिरा सापकोटा, मुरारी शर्मा, जीतबहादुर गुरुङ, सस्सा गुरुङ, सकुन्तला शर्मा लगायतले मजदुरको पक्षमा ओली सरकारले काम गर्न नसकेको आरोप लगाएका थिए । उद्घाटन सभामा केशव भट्टराई, मनोज गुरुङ, कुलदेवी बराल, सूर्यचन्द्र हड्खले, ज्ञाज शर्मा, कमलबहादुर सापकोटा, रुद्रप्रसाद तिमिल्सिना, केदार धमला, शंकरबहादुर खत्री लगायतले बोलेका थिए । परिषदमा युवा र महिला समिति सर्वसम्मत चयन भएको निर्वाचन अधिकृति मुरारी शर्माले जानकारी दिए । युवा समितिमा सूर्य पराजुली अध्यक्षमा चयन भएका छन् भने महिला समितिमा पूर्णकुमारी गुरुङ अध्यक्षमा चयन भएको सहायक मतदान अधिकृत कुलदेवी बरालले जानकारी दिइन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
