काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।
शनिबार राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्य समितिको बैठकले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
चैत १५ गतेबाट सुरु हुने पहिलो चरणको आन्दोलन वैशाख ८ गते सकिने राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । प्रमुख श्रेष्ठका अनुसार १६ गतेसम्म प्रचारप्रसार, १७ गतेदेखि २३ गतेसम्म देशब्यापी हस्ताक्षर संकलन अभियान राखिएको छ ।
यस्तै चैत २५ गते सिंहदरवार अगाडी, प्रदेश राजधानीमा र जिल्ला सदरमुकाममा १ घण्टे धर्ना कार्यक्रम राखिएको छ । चैत २८ गते सम्पूर्ण स्थानीय तहको केन्द्रमा १ घण्टे धर्ना, वैशाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्मनिरपेक्षताको ब्यानर÷प्लेकार्ड जलाउने र वैशाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहको कार्यक्रम राखेको छ ।
पहिलो चरणको संघर्ष सकिएपछि लगत्तै संघर्षको उचाई र सशक्तता बढाउँदै दोस्रो र तेस्रो चरणको कार्यक्रम तयार गरिने राप्रपाले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
