कैलाली– नेपाली कांग्रेसले बहुमतको हठमा संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरे दुर्घटना निम्तिने चेतावनी दिएको छ।
आज कैलालीमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले ‘बहुमत हिटलरको पनि थियो, विवेक नहुँदा इतिहासको पानामा सीमित भए भने सम्माननीय प्रधानमन्त्रीलाई आग्रह गर्छु जब बहुमत र विवेकको कुरा आउँछ, विवेकलाई केन्द्रमा राख्नुपर्छ।’
उनले भने चिकित्सा शिक्षा सुधारका लागि डाक्टर गोविन्द केसीले १६ औं पटक अनशनलाई निरन्तरता दिएको बताउँदै डाक्टर केसीले आफ्ना लागि माग्नु भएको छैन। आम नेपालीको भावना समेट्नु भएको छ।’
कांग्रेस सरकारमा हुँदा माग नसुन्ने विपक्षमा हुँदा मुद्दा बनाउनेरु भन्नेजस्ता प्रश्न उठेको बताएका शर्माले कांग्रेसको सरकारकै पालामा मेडिकल कलेज विस्तार भएको र निजीक्षेत्रलाई प्रोत्साहित गरेको बताए।
केसीका माग पूरा गर्न सुशील कोइराला प्रधानमन्त्री हुँदा गर्न केदारभक्त माथेमाको संयोजकत्वमा कार्यदल बनेको र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा चिकित्सा शिक्षा अध्यादेश ल्याएको उनले बताए।
केसीका माग पूरा गर्ने तीन वटा विकल्प सरकारसामू रहेको शर्माले तर्क गरे। पहिलो, माथेमा कार्यदलको जगमा उभिएर चिकित्सा शिक्षा विधेयक ल्याउने। दोस्रो, कांग्रेस सरकारले ल्याएको अध्यादेश अनुसार विधेयक ल्याउने।
तेस्रो, प्रधानमन्त्रीकै पहलमा केसीसँग भएको सहमतिको सम्झौतामा टेकेर विधेयक ल्याउने।
सरकारसँग बहुमत हुनु र सबै कुराको ज्ञान हुनु फरक भन्दै शर्माले भने, ‘बहुमत छ र विज्ञता छैन भनेरै संसारभर विज्ञको कार्यदल बनाइन्छ।’
‘कांग्रेस सरकारकै पालामा मेडिकल कलेजहरू खुले। सरकार त्यसबेला गाउँमा स्वास्थ्य चौकी विस्तार गर्नतर्फ लाग्यो। मेडिकल कलेज खोल्ने पैसा त्यसबेला थिएन, निजी क्षेत्रबाट खुले’ उनले भने, ‘मेडिकल कलेज धेरै खुलेपछि समस्या निम्तियो। समस्या समाधान गर्न डाक्टर केसी अनशन बस्नुभएको हो।’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
