Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अहिलेको सरकार कम्युनिस्टको होइन -सिपी गजुरेल


  • शनिबार, मंसिर १५ २०७५

  • अहिलेको सरकार कम्युनिस्टको होइन -सिपी गजुरेल

    नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सिपी गजुरेलले अहिलेको सरकार कम्युनिस्टको नभएको बताएका छन्।

    सरकारले कम्युनिस्टको नाममा जनतामा भ्रम सिर्जना गरेर वितृष्णा फैलाउने काम गरेको आरोप उनले लगाए।

    बुटवलमा आयोजित साक्षात्कारमा बोल्दै नेता गजुरेलले अहिलेको सरकार कम्युनिस्ट नभई प्रतिक्रियावादीको भएको दाबी गरे।

    उनले यो सरकारले कम्युनिस्टको नाममा भ्रम सिर्जना गरेको र कम्युनिस्ट सिद्धान्त र आचरणविपरित काम गरेको आरोप लगाए।

    ‘हामीले यो सरकारलाई कम्युनिस्टहरूको भनेर मानेकै छैनौं, यसले कम्युनिस्टहरूप्रति उपहास र भ्रम सिर्जना गरेको छ,’ उनले भने।

    देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले सरकारले गरेका गल्ती देखेर जनतामा कम्युनिस्टहरूले यस्तो गल्ती गर्छन् भनेर वितृष्णा पैदा भएको बताए।

    उनले सरकारले कम्युनिस्टको नाम बेचेर समृद्धिको नारा दिएर जनतालाई करको मारमा पारेको आरोप लगाए। जताततै असुरक्षा बढ्दै गएको उल्लेख गर्दै नेता गजुरेलले नेपालको शान्ति सुरक्षामा विदेशी दातृ निकायले चासो देखाउन थालेको दाबी गरे ।

    शिक्षा र स्वास्थ्यमा निजीकरण र माफियाकरण भएको दाबी गर्दै उनले माफियाहरूको दबाबमा विद्यार्थीहरूले मेडिकल कलेजहरूमा सरकारले तोकेकोभन्दा बढी शुल्क तिरेर पढ्न बाध्य भएको बताए।

    नेता गजुरेलले यो सरकारलाई ६० महिना पर्खिन नसक्ने भन्दै अब नयाँ जनआन्दोलन नगरी यो अवस्थाबाट पार पाउन नसकिने बताए। ‘अब ६० महिना पर्खिन हामीले सक्दैनौं, ६० महिनापछि त नेपाल कहाँ पुगिसकेको हुन्छ ।’

    अब नयाँ जनआन्दोलनको विकल्प नभएको बताउँदै नेता गजुरेलले पार्टीको बुटवलमा सञ्चालित केन्द्रीय समितिको बैठकले जनआन्दोलनका कार्यक्रमहरू घोषणा गर्ने बताए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij