Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सुर्खेत उपत्यकामा रतुखोलाबाट पनि पानी


  • शनिबार, मंसिर १५ २०७५

  • सुर्खेत उपत्यकामा रतुखोलाबाट पनि पानी

    कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानी आपूर्ति गर्दै आएको ‘सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था’ले अब प्रतिसेकेन्ड १५ लिटर पानी थप्ने भएको छ।

    वीरेन्द्रनगरको पूर्वमा पर्ने रतु खोलाबाट पानी थप पानी ल्याउन लागिएको हो।

    वीरेन्द्रनगर–१६ मा पर्ने रतुखोलाको प्रयोगमा आउन नसकेको पानी उपत्यकाका लागि ल्याउने योजना बनाइएको संस्थाका अध्यक्ष कुलमणि देवकोटाले बताए।

    सोही क्षेत्रमा पर्ने झुप्रा खोलाबाट प्रतिसेकेन्ड ७६ लिटर पानी उपत्यकाका लागि ल्याइन्छ।

    अहिले सुर्खेत उपत्यकाका लागि प्रतिसेकेन्ड १४९.५ लिटर पानी आपूर्ति भैरहेको छ। जसमा झुप्रा खोला मुहानबाट ७६ लिटर, खरीबोरी खोला मुहानबाट ३६ लिटर र खोर्के खोला मुहानबाट ३७ लिटर प्रति सेकेण्ड दैनिक पानी आपूर्ति हुँदै आएको छ।

    रतुखोला मुहानबाट पानी ल्याइएमा सन २०२२ सम्म उपत्यकामा खाने पानी वितरण गर्न सहज हुने अध्यक्ष देवकोटाले बताए। उक्त मुहानबाट मुख्य पानी प्रशोधन केन्द्रसम्म पानी ल्याउन साढे ६ किलोमिटर पाइप जडान गर्नु पर्नेछ।

    स्थानीय तथा प्रदेश सरकारसँग सहयोग मागेर पाइप जडान गरिने देवकोटाले बताए। ‘रतुखोलाको पानी ल्याउन हामीले मात्र सक्दैनौं,’  उनले भने, ‘योजना पूरा गर्न प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकासँग सहयोग माग्छौं।’

    वीरेन्द्रनगरमा १५ हजार ५३१, ११८ सामुहिक र कार्यालयका ३०९ गरी जम्मा १५ हजार ९५८ धारा सञ्चालित छन्। यस्तै प्रक्रिया पूरा भएका ३ हजार ८८३ धारा जडान गर्न बाँकी छ।

    संस्थाद्वारा वितरित पानी उपभोग गर्ने ३३ हजार घरधुरी छन्। सुर्खेतमा अहिले प्रतिसेकेन्ड २९.५ लिटर पानी अपुग छ

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij