काठमाडौं, चैत — देशभर आज आम निर्वाचन भइरहेको छ। निर्धारित कार्यकाल पूरा हुनुअघि नै निर्वाचन हुन लागेको हो, जसको मुख्य कारण पछिल्लो समय भएको “जेनजी आन्दोलन” लाई मानिएको छ।
सरकारमाथि बढ्दो जनदबाब र राजनीतिक सुधारको माग गर्दै युवाहरूको नेतृत्वमा सुरु भएको जेनजी आन्दोलनले व्यापक जनसमर्थन पाएको थियो। आन्दोलनकारीहरूले शासन प्रणालीमा सुधार, पारदर्शिता र नयाँ नेतृत्वको माग गर्दै देशव्यापी प्रदर्शन गरेका थिए। यही दबाबका कारण सरकारले निर्धारित समयभन्दा अगावै आम निर्वाचन घोषणा गर्न बाध्य भएको विश्लेषण गरिएको छ।
निर्वाचन आयोगका अनुसार आज बिहानैदेखि देशभरका मतदान केन्द्रहरूमा मतदाताको उल्लेखनीय उपस्थिती देखिएको छ। काठमाडौं उपत्यका सहित विभिन्न जिल्लामा मतदाताहरू बिहानैदेखि लाइनमा बसेर मतदान गरिरहेका छन्। सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदान केन्द्रहरूमा सुरक्षाकर्मीको पर्याप्त परिचालन गरिएको आयोगले जनाएको छ।
यस निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरूले देशभर आफ्नो चुनावी अभियान तीव्र बनाएका थिए।
राजनीतिक विश्लेषकहरूका अनुसार जेनजी आन्दोलनपछि हुन लागेको यो निर्वाचनले देशको राजनीतिक दिशालाई नयाँ मोड दिन सक्ने अनुमान गरिएको छ। युवाहरूको सक्रियता र नयाँ राजनीतिक चेतनाले निर्वाचन परिणाममा समेत प्रभाव पार्न सक्ने बताइएको छ।
निर्वाचन आयोगले मतदाताहरूलाई निर्धक्क र शान्तिपूर्ण वातावरणमा मतदान गर्न आग्रह गर्दै लोकतान्त्रिक अधिकार प्रयोग गर्न सबैलाई अपिल गरेको छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
