काठमाडौं — नेपाल स्थीत पाकिस्तानी दुतावासको आयोजनामा सम्पन्न ११औँ संस्करणको पाकिस्तान–नेपाल मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२६ को अन्तिम खेल तथा समापन समारोह आइतबार काठमाडौंस्थित पाकिस्तानी दूतावास परिसरमा सम्पन्न भएको छ।
फागुन ७ देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न नेपाली क्लबका १२ टोली सहभागी थिए। सन् २०१४ देखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको खेलकुद मित्रता बलियो बनाउँदै युवा प्रतिभाको विकासमा योगदान पुर्याउँदै आएको आयोजकले जनाएको छ।
समापन समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार एच. हाशमी (Abrar H. Hashm) तथा विशेष अतिथिहरूले विजेता, उत्कृष्ट खेलाडी र प्रतियोगिता अधिकारीहरूलाई ट्रफी, मेडल तथा नगद पुरस्कार प्रदान गरे। प्रतियोगिताको उपाधि बालुवाटार क्रिकेट क्लवले जितेको छ भने पाकिस्तान दूतावास टोली उपविजेता बनेको छ।
कार्यक्रममा बंगलादेश र चीनका राजदूत, सार्कका महासचिव, मलेसियाका कार्यवाहक राजदूतसहित विभिन्न कूटनीतिज्ञहरूको उपस्थिति रहेको थियो। साथै नेपाल क्रिकेट संघका पदाधिकारी, नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ, युवा परिषद्, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि तथा पाकिस्तानी समुदायका सदस्यहरू पनि सहभागी थिए।
प्रतियोगिताको निरन्तरताको सम्मानस्वरूप यसअघि सहभागी भई राष्ट्रिय टोलीसम्म पुग्न सफल भएका सात नेपाली क्रिकेटरलाई विशेष सम्मान गरिएको थियो।
समारोहमा बोल्दै राजनीतिक तथा शैक्षिक मामिलाका काउन्सिलर इकबाल हैदरले नेपालमा जरा तहदेखि क्रिकेट प्रवर्द्धन गर्न दूतावासले गर्दै आएको प्रयासको प्रशंसा गरे।
समापन मन्तव्यमा राजदूत हाश्मीले नेपाल र पाकिस्तानबीच युवा सहभागिता तथा खेलकुद आदानप्रदानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले सन् २०२७ मा आयोजना हुने १२औँ संस्करणमा १६ टोली सहभागी गराइने जानकारी पनि दिए।

राजदूत हाश्मीले आयोजक टोली, अम्पायर, मैदानकर्मी तथा सहयोगी स्टाफको योगदानको प्रशंसा गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गरे।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
