Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टी एकताको आग्रह गर्दै पूर्ण बहादुर खड्‌काले जारी गरे विज्ञप्ती (पूर्ण पाठ)


  • सोमबार, पुष २८ २०८२

  • पार्टी एकताको आग्रह गर्दै पूर्ण बहादुर खड्‌काले जारी गरे विज्ञप्ती (पूर्ण पाठ)

    कठमाडौ – नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्‌काले पार्टी एकताको लागी अपिल गरेका छन । उनले एक विज्ञप्ती जारी गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न आग्रह गरेका छन ।

    पौष २८, २०८२

    हार्दिक अपिल

    आदरणीय साथीहरू,

     

    जय नेपाल !

     

    अहिले मुलुक गम्भीर अवस्थामा छ । देशको सर्वोच्च जननिर्वाचित संस्था प्रतिनिधि सभा बिघटन भएको छ । अन्योल र अनिश्चितताको वर्तमान अवस्थामा देश र लोकतन्त्रका बारेमा सर्वत्र चासो र चिन्ता व्याप्त छ । आगामी फाल्गुन २१ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ । उक्त निर्वाचन मार्फत संविधानलाई लिकमा ल्याई लोकतान्त्रिक संवैधानिक व्यवस्था सुचारू गर्न आवश्यक छ । यस अवस्थामा नेपाली कांग्रेस एकताबद्ध, संगठित र सुदृढ हुन अपरिहार्य छ, तर नेपाली कांग्रेसमा अहिले असहज र अन्योलको स्थिति उत्पन्न भएको छ । नेपाली कांग्रेसले देशमा बिषम परिस्थिति उत्पन्न भएको बेला ईतिहासको विभिन्न कालखण्डमा परिस्थितिको सहि मूल्यांकन गरी आफ्नो नेतृत्वमा उचित निकास दिएको हाम्रो ईतिहास छ ।

     

    नेपाली कांग्रेस राष्ट्रियता र लोकतन्त्रको धरोहरका रूपमा स्थापित भएको हुँदा हाम्रो काँधमा फेरी एकपटक ऐतिहासिक जिम्मेवारी आएको छ । प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरे पछि आगामी २०८३ बैशाखमा हुने १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व सहज रूपले परिवर्तन गर्न सकिने अवस्था सुनिश्चित छँदैछ । तसर्थ, अहिले प्रतिनिधि सभा निर्वाचनमा सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भई अभियानको रूपमा लाग्न आवश्यक छ ।

    नेपाली कांग्रेसका सबै सदस्यहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारीहरू, एवं सम्पूर्ण केन्द्रीय सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, प्रदेश, जिल्ला, क्षेत्र, पालिका, वडा तहका पदाधिकारीहरू तथा सदस्यहरू, भ्रातृ एवं शुभेच्छुक संस्थाहरू तथा सहयोगी सबै साथीहरू मिली देशको बिषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टी भित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ । यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिबिधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपिल गर्दै पार्टीमा सम्पूर्ण एकताका साथ अगाडि बढ्न हार्दिक अनुरोध गर्दछु ।

    जय नेपाल !

    तपाईहरुको,

     

    पूर्णबहादुर खड्का

    कार्यवाहक सभापति

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij