काठमाडौ – नेपाली कांग्रेसमा यतिवेला विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विवाद उत्कर्षमा पुगेको छ । महामन्त्री गगन थापा पक्षले पुष २७ गते विशेष महाधिवेशनका लागी प्रतिनिधिहरुलाई काठमाडौं आउन आग्रह गरेका छन भने संस्थापन पक्ष विशेष महाधिवेशन गर्नै नहुने पक्षमा छ । संस्थापन पक्षले वैसाख २८ देखि ३१ सम्म महाधिवेशन गर्ने पार्टीको संस्थागत निर्णयमा सबै सहमत हुनु पर्ने बताउँदै आएको छ ।
थापा पक्षले विशेष महाधिवेशनको लागी काठमाडौ आउँन मोबाइल म्यासेज पठाए पनि औपचारिक निम्तो भने गरिसकेको छैन । तर विशेष महाधिवेशनको तयारी हेर्दा रोकिने छाँट छैन भने संस्थापन पक्षले त्यसलाई स्वीकार गर्ने अवस्था देखिदैन ।
केहि केन्द्रीय सदस्यहरुले मध्यमार्गी बाटो लिन जोड गरे पनि त्यसको सर्वमान्य प्रस्ताव कतैबाट आउँन सकेको छैन । अघिल्लो पटक पार्टी सभापतिमा प्रतिस्पर्धा गरेका र अहिले पनि नेतृत्वका लागी प्रयासरत डा. शेखर कोइराला विशेष महाधिवेशन को पक्षमा नलाग्दा संस्थापन पक्षलाई फाइदा देखिएको छ । कोइरालाले विशेष महाधिवेशन भए पनि केन्द्रीय समितिले निर्णय गरेर आव्हान गर्नु पर्ने बताएका छन ।
विशेष महाधिवेशनले के गर्छ ?
विशेष महाधिवेशनले १४ औं महाधिवेशनले निर्वाचित गरेको सभापति शेरबहादुर देउवालाई पदबाट हटाएको निर्णय गर्छ र नयाँ नेतृत्व चयन गर्छ । जुन संस्थापन पक्षले अस्वीकार गर्छ र देउवा सभापतिमा कायमै रहेको बताउँछ । त्यस्तो अवस्थामा कांग्रेसको सभापतिमा दुई जनाको दावी रहन्छ । त्यो अवस्था भनेको पार्टी विभाजन हो । केन्द्रीय समितिले आव्हान नगरेको विशेष महाधिवेशनलाई संस्थापन पक्षले वैधानिक नभएको दावी गर्ने प्रष्ट छ । उसले थापा पक्षको विशेष महाधिवेशन विधि, पद्धति र विधान सम्मत नभएको दावी गरेर १४ औं महाधिवेशनवाट निर्वाचित समिति नै आधिकारिक भएको मात्रै दावी गर्ने छैन थप कारवाही समेत गर्न सक्दछ ।
आधिकारिकताको विवाद निर्वाचन आयोग हुँदै अदालत सम्म पुग्न सक्दछ । अब कांग्रेस नफुटन विशेष महाधिवेशन स्थगन, संस्थापन पक्षको सहभागितामा विशेष महाधिवेशन वा दुवै पक्ष नियमित मदाधिवेशनमा सहमत हुनु पर्दछ । जुन विकल्पमा सहजै सहमति जुट्ने देखिदैन ।
तस्वीर AI
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
