काठमाडौ – नेपाली कांग्रेसको १५ औं महाधिवेशन सुरु हुन अब २२ दिन मात्रै वाँकी छ । तर महाधिवेशनको पहिलो कार्य क्रियाशिल सदस्यता सम्बन्धी काम समेत अघि बढ्न सकेको छैन । सिरियल नम्बर विनाको फारम जिल्ला पठाइए पछि विवाद उत्पन्न भएको थियो । चार लाख सदस्यता फारम रद्ध गरेर २४ घण्टा भित्र सिरियल नम्बर सहितको फारम पठाउँने निर्णय गरेको कांग्रेसले अहिले सम्म जिल्लामा नयाँ फारम पठाउँन सकेको छैन ।
जवकी मंसिर २० भित्र फारम वितरण सम्पन्न गर्ने तालिका थियो । पुष ८ सम्म पुराना क्रियाशिल सदस्यता टुङ्ग्याएर पुष १० सम्म नयाँ क्रियाशिल सदस्यता टुङ्गो लगाउने तालिका छ । कांग्रेसले बनाएको तालिका अनुसार पुष १४ गते भित्र क्रियाशिल सदस्यता केन्द्रीय निर्वाचन समितिलाई बुझाउँने छ । यी काम गर्न अब कांग्रेससँग जम्माजम्मी १० दिनको समय बाँकी छ ।
फारमको समेत व्यवस्था हुन नसकेकाले अब १० दिन भित्र क्रियाशिल सदस्यता टुङ्गो लगाउँन असम्भवप्रायः देखिएको छ । यहि हिसावको कार्यशैलीले घोषित मिति पुष २६ गते कांग्रेस महाधिवेशन प्रारम्भ हुन सक्ने देखिदैन ।
नेताहरू समेत आफुलाई भेट्न आउँने कार्यकर्तालाई घोषित मितिमा महाधिवेशन नहुँने बताउँन थालेका छन ।
यस्तो छ कांग्रेसको महाधिवेशन तालिका
# केन्द्रबाट नयाँ क्रियाशील फारम वितरण- मंसिर २० गतेभित्र
# प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फारम पठाउने अवधि- मंसिर २४ गतेभित्र।
# एक मात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधि- पुस ८ गतेभित्र।
# एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि- पुस १० गतेभित्र।
# दुई वा दुईभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमिति र केन्द्रमा पठाउने अवधि- पुस ११ भित्र।
# नयाँ क्रियाशील सदस्यताउपर छानबिन गरी निर्णयअनुसार सूची प्रकाशित गरेर केन्द्रमा पठाउने- पुस १२ गतेभित्र।
# क्रियाशील सदस्यको अन्तिम सूची तयार गरी सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि- पुस १४ गते।
# केन्द्रीय कार्यालयले सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि- पुस १४ गतेभित्र।
# नेपाली जनसम्पर्क समितिको अधिवेशन- पुस १५ गते।
# गाउँ/नगर वडा अधिवेशन- पुस १६ गते।
# गाउँ/नगरपालिका अधिवेशन- पुस १७ गते।
# प्रदेश सभा क्षेत्रीय अधिवेशन- पुस १९ गते।
# प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाच क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २१ गते।
# दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएको जिल्ला अधिवेशन- पुस २२ गते।
# प्रदेश अधिवेशन- पुस २३ र २४ गते।
# केन्द्रीय महाधिवेशन- पुस २६, २७ र २८ गते काठमाडौंमा।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
