काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति वैठक शनिवार बसेर निर्णय समेत सार्वजनिक भए पछि बैठक सम्पन्न भएको हो कि जारी छ भन्ने अन्यौल देखिएको छ । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको निर्णय सम्बन्धी विज्ञप्ती हेर्दा बैठक सम्पन्न भए जस्तो देखिन्छ । यद्यपी विज्ञप्तीको अन्तिममा वैठक मंसिर एघार गते बस्ने उल्लेख छ । चुनाव अघि पार्टी महाधिवेशन गर्ने कि पछि भन्ने विवादमा फसेको कांग्रेसले यस सम्बन्धी कुनै निर्णय गरेको छैन ।
कांग्रेस स्रोतका अनुसार मंसिर एघार गते बैठक बस्ने भनिए पनि सम्भावना कम छ । वैठक बसिहाले पनि महाधिवेशनको विषयमा अनौपचारिक सहमति जुटाएर मात्रै बस्ने बताइन्छ ।अब कांग्रेस महाधिवेशन भन्दा पनि चुनावको तयारीमा लागेको स्रोतको भनाई छ । चुनाव अघि महाधिवेशन गर्नु पर्छ भन्ने महामन्त्री गगन थापालाई वेवास्ता गर्दै संस्थापन पक्ष अघि बढेको देखिन्छ । वैठक पछि महामन्त्री थापाले विशेष महाधिवेशनको विकल्प नभएको बताए । अब बस्ने बैठकले विशेष महाधिवेशन गर्ने निर्णय गर्ने दावी थापाले गरे ।
संस्थापन पक्ष नियमित महाधिवेशनको कार्यतालिका ल्याउँन सहमत भए पनि महामन्त्री थापा पक्ष विशेष महाधिवेशनको अडानबाट पछि नहटे पछि सहमति जुटन सकेन । वैठक पछि थापाले आफुहरुलाई कार्यतालिका नभई महाधिवेशन चाहिएको बताए । उनले अब विशेष महाधिवेशनको विकल्प नभएको बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
