काठमाडौं – सामाजिक अभियन्ता ईः ईः ले काठमाडौ महानगर पालिकाका मेयर बालेन्द्र साहको आलोचना गरेका छन । उनले जेनजी आन्दोलनमा साहले जेनजी लाई उक्साएर आफु लुकेको आरोप लगाएका छ्न । उनले भनेका छ्न – ‘सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउने जुन घृणित कार्य भयो त्यसको समिक्षा भविष्यमा होला नै।’ उनले मेयर साहलाई यो खेलमा प्यादा मात्रै भएको टिप्पणी गरेका छन ।
उनी लेख्छन् :
सबैजना एकै छाता मुनि आउनैपर्छ भन्ने सोच एकतन्त्रीय हो। जलाउनुपर्छ, गाड्नुपर्छ, समाप्त पार्नुपर्छ भन्ने आवेगात्मक र संवाद, सहअस्तित्व, समावेश हुनुपर्छ भन्ने अहिंसक सोच समाजमा प्रवाह गर्ने मानिस वा समूह स्वभाविकरूपले एक कित्तामा आउनसक्दैनन्। स्वतन्त्रता, उत्पादन, न्याय हेर्ने दृष्टिकोण फरक हुनसक्छन् र हुनुपनिपर्दछ। बालेन जी, तपाईँको / तपाईँ समर्थित नयाँ राजनीतिक दल जनजीविका सम्बन्धी र सैद्धान्तिक सवालमा कहाँ उभिन्छ भनेर हेर्न बाँकीनै छ। अनि राज्यशक्तिको आफ्नै सान्दर्भिकता भएतापनि सबैजना सत्ताकै राजनीतिमा आउनुपर्छ भन्ने पनि छैन। लोकतन्त्रको सौन्दर्यनै वैचारिक र व्यवहारिक विविधता हो।
भदौ २४ गते, सेप्टेम्बर ९ तारिखको दिन सवेरैदेखि सार्वजनिक, व्यवसायिक, र व्यक्तिगत सम्पतिको दोहन रोक्न एउटा एक मिनेटको भिडियो मात्र हाल्नु भनेर पहुँच भएका जति सबैले मुलुकको सर्वोच्च शक्तिशाली नेता तपाईँलाई त्यो दिन कति गुहारे गुहारे, तर मूर्ख अभिमानी प्रधानमन्त्रीको राजिनामा नआएसम्म जसरी सेनाको हेलिकप्टर बालुवाटार पुगेन, त्यसरीनै तपाईँको एउटा सामान्य अपील पनि सबै सोत्तर नभएसम्म आएन। किन? यस्ता जवाफदेहिता, पारदर्शिता, वैचारिक र जिम्मेवारी अभाव देखिएका अनेक प्रसङ्ग सर्वविदितै छन्।
त्यसबाहेक – सडकमा पहिलो पटक आएका विद्यार्थी र युवालाई अगाडि सारेर पछाडिबाट उक्साउने र ढुङ्गा बर्साउने जुन घृणित कार्य भयो त्यसको समिक्षा भविष्यमा होला नै। महामेयर सडकमा थिएनन् तर उनका प्रतिनिधिले आन्दोलन कमाण्ड गरिरहेका थिए। अवश्य यसमा उनको मात्र दोष छैन। अरु अनेक पक्षले पनि त्यस्तै गरे। तर जे भनेपनि मूल दोष त सरकारकै, असान्दर्भिक भइसकेका राजनीतिक पात्रकै हो। शायद सर्वशक्तिमान् कवि यो खेलमा एउटा प्यादामात्र थिए। भूपिले लेखेका थिए नी – “एक मनोरञ्जक खेलका सामाग्री”।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
