- हेराकाजी महर्जन
भूमिका
नेपाली कांग्रेस राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, अनि विधिको शासन, स्वतन्त्रता, सुशासन र सामाजिक न्यायका मूलभूत सिद्धान्तहरूलाई नेपाली मन र माटोमा स्थापित गर्ने आदर्शमा खडाभएको दक्षिण एशियाकै एक पुरानो र गौरवशाली लोकतान्त्रिक पार्टी हो. यो केवल एक राजनीतिक दल होइन, विपी कोइरालाजस्ता दूरदर्शी महान राजनेताहरूले हुर्काएको एउटा विचारको प्रवाह हो, जसले नेपालको माटो सुहाउँदो समाजवाद र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात् गर्छ ।
विपीको नेपाली समाजको सुन्दर परिकल्पना भित्र विधिको शासन, नागरिक अधिकार र सुरक्षाको प्रत्याभूति, आर्थिक स्वतन्त्रता अनि सामाजिक न्याय जस्ता कुरा आधारशिला बनेका थिए. यिनै स्तम्भहरू नेपाली कांग्रेसका आत्मा हुन्, जसको जगमा पार्टीले विगतमा अनेकौँ चुनौतीका बाबजुद निरङ्कुशता, अधिनायकवाद र अन्यायसँग निर्णायक संघर्ष गर्दै मुलुकको भविष्य निर्माणमा योगदान पु¥याउँदै आएको हो । राणाशासन विरुद्धको संघर्षदेखि लिएर पञ्चायतको अन्त्य र गणतन्त्र स्थापना सम्मका हरेक मोडमा कांग्रेसले नै आम जनताको नेतृत्व गर्दै परिवर्तनमा सधैं अग्रणी र अतुलनीय भूमिका खेलेको छ. यो हाम्रो गौरवशाली इतिहास हो, जसले हामीलाई सधैँ ऊर्जा दिन्छ. ।
आजका यथार्थ
तर विपीको नाम र आदर्श जप्दैगर्दा के आज हामीले उहाँका आदर्शहरूलाई जीवन्त राख्न सकेका छौं? आज राजनैतिक वृत्तमा चर्चा हुनेगरे जस्तो व्यक्तिगत स्वार्थ, आन्तरिक गुटबन्दी, पदको लोभ, विचारको क्षय र जनआकांक्षा प्रति संवेदनहीनता जस्ता विचलन कतै यथार्थ बनेर पार्टीको छविलाई क्षति गर्दै त छैनन् ? बिकृतिको खतरा मौन रूपमा हुर्किरहेको त छैन? यसले कांग्रेसका सच्चा अनुयायीहरूलाई अवश्य चिन्तित तुल्याएको छ र हामीले अब इमानदारीपूर्वक गम्भीर आत्मचिन्तन गर्नुपर्ने घडी आएको छ ।
हामीले स्वीकार गर्नुपर्छ कि आज कांग्रेसको सामुन्ने केही चुनौतीहरू अवश्य छन् जस्तो आम कार्यकर्तामा असन्तोष, उनीहरूको मनोबलमा गिरावट र क्रमिकरूपमा आम जनता संगको न्यानो सम्बन्ध र भरोसा चिसिँदै गएको दुखद यथार्थ सामुन्ने छ. पदमा हुनेहरू सम्बन्धमा प्रजातान्त्रिक नैतिकता, पारदर्शिता र जवाफदेहिताको सवालमा गम्भीर प्रश्नहरू पनि उठेका छन् र भ्रष्टाचार, अनियमितता, ठेक्कापट्टामा लेनदेन, पहुँचको खेल, आन्तरिक गुटबन्दी, संस्थागत कब्जा, कमिशनखोरी र लाभको भागबण्डा जस्ता चर्चा कांग्रेससँग यसरी जोडिनु राम्रो सङ्केत मानिएको छैन. यसले पार्टीको साखमाथि प्रश्नचिह्न खडा गरेको छ र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि ’शून्य सहनशीलता’ को पार्टी नीतिको खुला उपहास भएको छ ।
समस्या पहिचान
पुस्तान्तरण, नेतृत्व हस्तान्तरण र पार्टीको रूपान्तरण एकादेशका कथा बनेका छन् र नयाँ पुस्ताको ऊर्जा, क्षमता र नवीन सोचलाई पार्टीको विकासमा उपयोग गर्नमा उपेक्षा भएको छ मात्र होइन भ्रष्टाचार र अनुशासनहीनता विरुद्धको लडाइँ कमजोर भएको छ ।
पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास पनि अपेक्षित रूपमा हुन नसकेको दृश्य यत्रतत्र छ. गुटबन्दीले पार्टीको एकता र शक्तिलाई कमजोर बनाइरहेको छ, जसले गर्दा कार्यकर्ताहरूमा निराशा छाएको छ. विधि र प्रक्रियाअनुसार सामुहिक निर्णय र विचार–विमर्शबाट पार्टीलाई सञ्चालन गर्दै स्वस्थ आलोचनालाई प्रोत्साहन गर्नु सट्टा निषेध र बञ्चित गर्ने गुटबन्दीको साँघुरो संस्कृति मौलाउँदो छ ।
आज नीतिको अनुपालना भन्दा व्यक्तिपूजक प्रवृत्ति, पारदर्शिता भन्दा पारिवारिक सोच र विचारभन्दा आर्थिक स्वार्थ बलियो हुँदै गइरहेको त होइन भन्ने आशंका व्याप्त छ. समानुपातिक–समावेशी सिफारिस र महत्वपूर्ण नियुक्तिहरूमा योग्यता र तोकिएका मापदण्ड भन्दा निकटताले प्राथमिकता पाएको आरोप लागेको छ. वाणी र व्यवहार अनि सिद्धान्त र कार्यनीतिमा सामञ्जस्यता टुटेको स्थिति छ ।
प्रविधि र नवीनतालाई आत्मसात् गर्दै डिजिटल प्ल्याटफर्मको उपयोगद्वारा कार्यकर्ता र जनताबीचको सम्बन्धलाई घनिष्ठ र जीवन्त पार्नेतर्फ ध्यान गएकै छैन ।
देशको शब्दचित्र
देशको अवस्था उस्तै उदेकलाग्दो देखिन्छ. विधिको शासनको पालनामा कमजोरी, नियम, कानुन र संवैधानिक सर्वोच्चतालाई सर्वोपरी मान्ने प्रतिबद्धता व्यवहारमा डगमगाएको अवस्था छ. सुशासन आजको सबैभन्दा ठूलो चुनौती बनेको छ. जनताले खोजेको सुशासनको मानकको स्थापना, पारदर्शिता र जवाफदेहितामा कमी आएका गुनासाहरू सर्वत्र सुनिन थालेका छन्. देशको अर्थतन्त्र निरन्तर ओह्रालोमा छ, राजानीतिक स्थिरता शून्यमा झरेको मात्र छैन राष्ट्रिय स्वाधिनता पनि गिर्दो अवस्थामा छ ।
उज्यालोको खोजी
विपीको राष्ट्रवाद संकीर्ण चिन्तन नभएर व्यापक राष्ट्रिय एकताको भावना थियो, मुलुकको स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको गहन आस्था बनेको थियो. तर आज राष्ट्रवादको अवाधारणामै अस्पष्टता छाएको छ र राष्ट्रको हितलाई सर्वोपरि राख्दै अन्तर्राष्ट्रिय सम्बन्धमा सन्तुलन कायम राख्नुपर्नेमा कहिलेकाहीँ बाह्य शक्तिको प्रभाव हाबीहुन थालेको आभाष भएको छ ।
उता विपीले देखेको समतामूलक समाजको सपना र सामाजिक न्यायको अवधारणालाई थप सशक्त बनाउनुपर्नेमा पनि कमजोरी भएका छन्. महङ्गी, बेरोजगारी, स्वास्थ्य, शिक्षा जस्ता जनताका प्राथमिकताका विषयहरूमा ठोस कार्यक्रम दिन नसक्दा उल्टै आर्थिक असमानता फराकिलो हुँदै गरेको छ र गरिब, विपन्न, तल्लो तहका जनता र सीमान्तकृत समूहको किनारीकरण झन् बढ्दो छ ।
विपी केवल एक नेता हुनुहुन्न थियो, स्वयममा एक दर्शन हुनुहुन्थ्यो. विपीले सधैँ नैतिकता र चारित्रिक शुद्धतामा जोड दिनुहुन्थ्यो. उहाँले प्रजातन्त्रलाई केवल चुनावी प्रक्रिया होइन, जीवनशैली मान्नुहुन्थ्यो, समाजवादलाई सत्ताको साधन होइन सामाजिक न्याय र समतामूलक समाजको बाटो देख्नुहुन्थ्यो. राष्ट्रवादलाई स्वाभिमान, अस्मिता र स्वनिर्भरताको आधार बनाउन खोज्नुहुन्थ्यो. कांग्रेस यिनै मूल्य र मर्यादाको नाम हो, जसले आफूलाई सधैँ जनताको विश्वासमा बाँधेर राखेको थियो ।
विपीले ल्याएका विचार, नेतृत्व शैली, सिद्धान्तमा दृढता र राष्ट्रको समग्र हितलाई केन्द्रमा राख्ने राजनीतिक दर्शन आज पनि उत्तिकै सान्दर्भिक छन्. तर आज नेतृत्व पंक्तिमा त्यो दूरदृष्टि, त्याग, जनसेवाको आत्मा र नीतिमा पारदर्शिता खोज्न थाल्दा हामी प्रायः निराश हुन्छौँ. प्रजातन्त्रलाई सुदृढ बनाउने जिम्मेवारीमा रहेको पार्टीमा सुशासनको गन्ध हराउँदै गएर सत्ता सञ्जाल र स्वार्थको खेलले यसको संस्थागत चरित्रमै प्रश्न उठ्न थालेका छन् ।
अबको बाटो
तरपनि निराश हुनुपर्ने छैन, किनकि समस्याहरूको समाधान पनि हाम्रै हातमा छ। हरेक चुनौतीले नयाँ अवसर लिएर आएकै हुन्छ, भनिन्छ। राजनीतिलाई स्वार्थको साधन नमानी सेवाको माध्यम मान्ने र राजनीतिक नेतृत्वले त्याग र सिद्धान्तको उदाहरण बन्ने हो भने कांग्रेसको पुनर्जागरण त्यसैबाट सम्भव छ ।
आह्वान
यस पार्टीसङ्ग संघर्षको गौरवपूर्ण इतिहास, अनुभवी नेतृत्वको भण्डार र लाखौँ निष्ठावान कार्यकर्ताहरूको ऊर्जा छ । आवश्यक छ एक इमानदार आत्म–मूल्याङ्कनको कि हामी कहाँ चुक्यौं? के हाम्रो विचार, व्यवहार र बचनबीच मेल छ? नेतृत्वमा आत्मालोचनाको चेत पलाउने, विपीको विचारमा फर्किने साहस देखाउने र कार्यकर्ताहरूको आवाज र जनताको पीडा बुझ्न थाल्ने हो भने कांग्रेसको आत्मा फेरि जगाउन सकिन्छ, फेरि एकपटक जनताको मुटुमा बस्न सकिन्छ र राष्ट्रनिर्माणको अग्रपंक्तिमा उभिन सकिन्छ ।
कांग्रेस केवल एक पार्टी होइन, नेपालको प्रजातान्त्रिक चेतनाको पर्याय हो । त्यसैले अब जरुरी छ, विपीको दर्शनमा फर्कने, कांग्रेसलाई विचारले जीवन्त बनाउने, र हिम्मतका साथ जनताको विश्वास जित्ने यात्रा पुनः सुरु गर्ने, यसरी नै कांग्रेस फेरि जनताको मुटुमा बस्न सक्छ, यस जटिल मोडमा हामी कार्यकर्ताले एकपटक फेरि विपीका विचारहरूलाई आत्मसात् गर्दै नयाँ उत्साहका साथ अगाडि बढ्ने बेला आएको छ ।
यो समय हो, एकपटक फेरि विपीको विचारको झण्डालाई उचो पार्ने र नेपाली कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउने, साँच्चै भन्ने हो भने कांग्रेस ब्यूँझनु मात्र बाँकी छ, सामथ्र्य अझै बाँकी छ. हामीले आत्मा फेरि जगाउने र सबै मिलेर अघि बढ्ने अठोट लिने हो भने अवश्यमेव सफल हुनेछौँ, धन्यवाद !!
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
