काठमाडौं – नेपाली कांग्रेसले आफ्ना दिवंगत नेता ढुण्डिराज शास्त्री को निधनमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार बसेको पार्टीको आकस्मिक बैठकले गरेको निर्णय यस्तो छ ।
(१) नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री एवं समाजवादी चिन्तक श्री ढुण्डिराज शास्त्रीको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा २०८२ असार २ गते भएको निधनले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ । कार्यसमितिको यो बैठक गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
(२) विद्यार्थी जीवनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका स्वर्गीय शास्त्रीले प्रजातन्त्र पुनस्र्थापनाको संघर्ष र आन्दोलनहरूका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताउनु भएको थियो । स्व. शास्त्री— जननायक बी.पी. कोइरालाका अनुयायी, समाजवादी चिन्तक र प्रजातान्त्रिक समाजवादका व्याख्याता समेत हुनुहुन्थ्यो । अर्घाखाँची जिल्लाको किमडाडामा वि.सं. १९९३ जेठ २५ गते जन्मनु भएका स्वर्गीय शास्त्री पटक–पटक पार्टीको केन्द्रीय सदस्य हुनुका साथै वि.सं. २०४८ र २०५१ को आम निर्वाचनमा अर्घाखाँची जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको थियो । नेता शास्त्रीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।
(३) उहाँको निधनबाट नेपाली कांग्रेसले एक वौद्धिक, अग्रज र अनुभवी राजनीतिज्ञलाई गुमाएको
छ । नेपाली कांग्रेसको संगठन निर्माण र सुदृढीकरणमा पु¥याउनु भएको योगदान, प्रजातन्त्रप्रतिको प्रतिवद्धता, समाजवादी विचारको प्रवद्र्धन तथा पार्टीका विभिन्न महत्वपूर्ण पदीय जिम्मेवारीमा रहेर उहाँले निर्वाह गर्नु भएको नेतत्वदायी भूमिका पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ ।
(४) नेता श्री शास्त्रीको आत्माको चीर शान्तिको कामना गर्दै केन्द्रीय कार्यसमितिको यो बैठक एक मिनेट मौन धारण गर्ने निर्णय गर्दछ । दुःखको यस घडीमा शोक सन्तप्त परिवार तथा आफन्तजनहरूमा धैर्य धारण गर्न सक्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै गहिरो समवेदना प्रकट गर्दछ ।
(५) उहाँप्रति उच्च सम्मान प्रकट गर्दै शोक कार्यक्रम देहाय बमोजिम निर्धारण गरिएको छ—
(क) २०८२ असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने ।
(ख) २०८२ असार ५ गते बिहीबारका दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने ।
(ग) स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने ।
(घ) स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने ।
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
