काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नै हिन्दु राष्ट्र र राजसंस्था स्थापनाको लागी आफ्नै नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको छ । आज बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, आगामी आन्दोलन, देशभर भइरहेका पार्टीका कार्यक्रमहरु एवं संगठन निर्माणको अवस्थाबारे समिक्षा गरेको प्रवक्ता मोहन श्रेष्ठले जनाए ।
राप्रपाले गरेको निर्णय यस्तो छ :
१. राप्रपाले राजसंस्था, हिन्दु राष्ट्रको पुन:स्थापना, प्रदेश संरचनाको खारेजी लगायतका राजनीतिक, सामाजिक एवं सुशासन र जनजीविकाका विविध विषयमा काठमाण्डौं उपत्यका लगायत देशका विभिन्न स्थानका पूर्वघोषित कार्यक्रमहरुलाई निरन्तरता दिनेछ। साथै, राप्रपाको नेतृत्वमा हुने आन्दोलनको कार्यक्रमहरु तय गर्न आगामी चैत १२ गते आन्दोलन परिचालन मूल समितिको बैठक पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बस्नेछ र आन्दोलनका आगामी कार्यक्रमहरु तय गर्ने निर्णय गरिएको छ। राप्रपाले आन्दोलन र संगठनलाई संगसंगै लैजाने र आन्दोलनको घोषणापछि पार्टीका सबै गतिविधिहरु आन्दोलन केन्द्रीत गर्ने निर्णय लिएको छ।
२. देशले भोगिरहेको कठिन अवस्था, शिथिल अर्थतन्त्र, तिव्र भ्रष्टाचार नियन्त्रण र आम जनतामा व्याप्त सामुहिक निराशालाई चिर्न संसदका पहिलो र दोश्रो दल सम्मिलित कांग्रेस-एमालेको सरकार पूर्णत: असफल रहेको राप्रपाको निश्कर्ष रहेको छ। केवल सरकारहरु परिवर्तन हॅुदैमा देशको विद्यमान समस्याहरुको समाधान हुन सक्दैन, प्रणालीगत कमजोरीमा आमूल सुधार अहिलेको आवश्यकता हो । यसका लागि राप्रपाले निरन्तर उठाउॅदै आएको र सबैलाई स्विकार्य हुने ‘नवीन समझदारी’ उपयुक्त विकल्प हो । कसैलाई निषेध नगर्ने ‘नवीन समझदारी’का लागि तयार हुन राप्रपा सम्पूर्ण राजनीतिक दललाई आग्रह गर्दछ ।
३. आन्दोलनका लागि समान विचार भएका व्यक्ति, समूह र दलसंग पारस्परिक एकता, संवाद र सहकार्यको लागि राप्रपाले पहलकदमी गर्नेछ। यसका लागि सम्बद्ध पक्षलाई राप्रपा हार्दिक आह्वान गर्दछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
