Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पार्टीलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन – देउवा


  • मंगलबार, भाद्र ३० २०८३

  • पार्टीलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन – देउवा

    काठमाडौ – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीमा विकसित राजनितिक घटनाक्रम र विवादबारे आफ्नो धारणा सार्वजनिक गरेका छ्न । देउवाले विशेष महाधिवेशन देखि आम निर्वाचन सम्मका विषय समेट्दै धारणा राखेका छन । देउवाको अपिल यस्तो छ :
    अपिल
    प्रिय साथीहरू,
    जय नेपाल !
    सर्वप्रथम, हालै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट ज्यान गुमाउनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु। साथै, बाढीमा परी घाइते हुनु भएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। बेपत्ता भएका व्यक्तिको खोजी र उद्धार कार्यमा निरन्तरता दिन सरोकारवाला सबैमा आग्रह गर्दछु।
    प्राकृतिक विपत्तिको यस कठिन घडीमा कुनै राजनीतिक विचार, धार्मिक आस्था वा भौगोलिक सीमाको भेदभाव नगरी खोज, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका कार्यमा एकजुट भएर लाग्न म सम्पूर्ण नेपालीमा अनुरोध गर्दछु। पार्टीका सबै तहका नेता–कार्यकर्तालाई विपत्को यस असहज घडीमा आ–आफ्नो ठाउँबाट साथ र सहयोगका लागि निर्देश पनि गर्दछु।
    साथै, नेपालले सामना गरिरहेको यस महाविपत्तिमा मित्रराष्ट्र, अन्तर्राष्ट्रिय सहयोगी निकायहरू तथा विभिन्न संघ–संस्थाबाट प्राप्त सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत आवश्यक सहयोग र सहकार्यका लागि अपिल गर्दछु।
    विगतको दशकमा हामीले २०७२ सालको महाभूकम्प र त्यसपछि विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ महामारीको समेत सामना गर्नुपर्‍यो। ती दुवै विपत्तिमा दल, नागरिक समाज, सञ्चार माध्यमलगायत सबै एक भएर सामना गर्‍यौं र विपत्तिबाट बाहिर निस्कन सफल पनि भयौं। भोटेकोशी बाढीको महाविपत्तिपछिको पुनर्स्थापना र पुनर्निर्माणमा पनि सारा नेपाली एक हुने वातावरण बनाएर अघि बढ्न अनुरोध गर्दछु।
    साथीहरू,
    आज म यस अपिलमार्फत नेपाली कांग्रेसभित्र देखिएको वर्तमान परिस्थितिका विषयमा आफ्नो धारणा स्पष्ट गर्न चाहन्छु।
    पछिल्लो समय पार्टीभित्र देखिएको विवाद र असमझदारीप्रति गम्भीर रूपमा चिन्तित छु। पार्टीको विधि, विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत अवैधानिक रूपमा विशेष महाधिवेशन गर्ने समूहले कथित १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी एकपक्षीय ढंगले अघि बढ्न खोजेको देखिन्छ।
    नेपाली कांग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन, आधुनिक नेपाल निर्माणको प्रमुख आधारस्तम्भ पनि हो। २००७ सालदेखि आजसम्म भएका मुलुकका सबै प्रमुख राजनीतिक परिवर्तनमा नेपाली कांग्रेसले नेतृत्वदायी तथा निर्णायक भूमिका निर्वाह गर्दै आएको छ। नेपाली कांग्रेस स्थापना कालदेखि लामो समयदेखि योगदान पुर्‍याएका तथा लामो संघर्ष र बलिदानबाट स्थापित भएका नेता तथा असंख्य सदस्यहरूलाई बेवास्ता गरेर अघि बढ्ने प्रयास नेपाली कांग्रेसको हितमा कदापि हुन सक्दैन।
    एकातर्फ पार्टीको अनुभवि नेतृत्वबाट निर्वाचन जित्न सकिँदैन भन्ने दुष्प्रचार गर्दै विशेष महाधिवेशन गर्नेहरूले निर्वाचन परिणामबाट समेत कुनै पाठ सिक्न नसक्नु कांग्रेस निर्माणको होइन, कांग्रेसलाई कमजोर बनाउने प्रवृत्तिको परिचायक हो।
    विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु विधि, विधान र सर्वमान्य कानुनी सिद्धान्तविपरीतको कार्य हो।
    सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको सन्दर्भमा यस विषयमा गम्भीर संवैधानिक र कानुनी प्रश्न रहेको स्पष्ट हुन्छ। एकातर्फ अदालतमा वैधताको प्रश्न विचाराधीन रहने, सोही मुद्दामा तारिख धाउने र अर्कोतर्फ त्यसको अन्तिम निर्णय नहुँदै अधिवेशन प्रक्रिया अघि बढाउने कार्य राजनीतिक, नैतिक तथा कानुनी र संवैधानिक दृष्टिले उपयुक्त देखिँदैन।
    नेपाली कांग्रेसले विगतमा पार्टीभित्र तथा मुलुकमा देखिएका जटिल समस्याहरूलाई एकता, सहमति र सहकार्यका आधारभूत मान्यतामा अडिएर समाधान गरेको इतिहास छ। कथित विशेष महाधिवेशन पक्षधरहरूले विगतको परम्पराबाट पाठ सिक्न नसकेको मात्र होइन, पार्टीभित्र सहमति हुन सक्ने पर्याप्त सम्भावना हुँदाहुँदै सहमतिको अवसरलाई लत्याएर बहुसंख्यक नेता तथा कार्यकर्ताको सहभागिताबिना कथित महाधिवेशनमा अघि बढ्नु नेपाली कांग्रेसलाई कमजोर बनाउने गतिविधि हो भन्ने मेरो स्पष्ट बुझाइ छ।
    त्यसैले यस अपिलमार्फत अवैधानिक विशेष महाधिवेशनबाट आएको समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुन नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्तामा हार्दिक अनुरोध गर्दछु।
    मलाई व्यक्तिगत रूपमा कुनै पद वा जिम्मेवारीप्रति लोभ छैन। अब कुनै पदमा पुग्ने लालसा पनि मैले राखेको छैन। तर राज्य र नेपाली कांग्रेसले मेरो अनुभवको सदुपयोग आवश्यक ठानेमा जीवनको अन्तिम क्षणसम्म पनि जिम्मेवारी निर्वाह गर्न म पछि हट्ने छैन।
    देशभरिका महाधिवेशन प्रतिनिधिहरूद्वारा विधिवत् सम्पन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिका रूपमा १५औँ महाधिवेशन सम्पन्न गरी पार्टीको नेतृत्व हस्तान्तरण गर्नु मेरो वैधानिक, राजनीतिक तथा नैतिक दायित्व हो, र त्यसलाई पूरा गर्नु मेरो कर्तव्य पनि हो।
    विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सम्मानित नेपाली कांग्रेसको विधान र नेपालको संविधानबमोजिम सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा महाधिवेशन गर्ने पर्याप्त समय बाँकी हुँदा पनि सहमतिबेगर हतारमा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशनको प्रक्रिया अघि बढाउनु कथित विशेष महाधिवेशन पक्षधरहरूले पार्टीलाई कमजोर गर्ने, विभाजन गर्ने गरी अवैधानिक रूपले अधिवेशन गर्ने कार्य हो।
    पार्टीलाई कमजोर गर्ने कार्य हुँदा म मुकदर्शक भएर बस्न सक्ने छैन।
    तसर्थ नेपाली कांग्रेसका सम्पूर्ण नेता तथा कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई पार्टीभित्र देखिएको वर्तमान मतभेदको अन्त्य गर्दै एकताबद्ध रूपमा आगामी मंसिर २१, २२ र २३ गते सम्पन्न हुने १५औँ महाधिवेशनको तयारीमा जुट्नुपर्ने आवश्यकता रहेको विश्वास दिलाउन चाहन्छु।
    पार्टीभित्रको एकता, सहमति र सहकार्यलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने यस अभियानमा आ–आफ्नो स्थानबाट साथ, सहयोग र सहकार्यका लागि सबैमा हार्दिक अपिल गर्दछु।
    धन्यवाद।
    जय नेपाल !
    शेरबहादुर देउवा
    २०८३ भदौ ३० गते

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij