Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेसका २५ नेताको आग्रह : दुवै महाधिवेशन स्थगित गरौं


  • शुक्रबार, भाद्र २६ २०८३

  • कांग्रेसका २५ नेताको आग्रह : दुवै महाधिवेशन स्थगित गरौं

    काठमाडौं – नेपाली कांग्रेसका २५ नेताले दुवै पक्षलाई घोषित महाधिवेशन स्थगित गरी बार्तामा वस्न अपिल गरेका छन । अपिल गर्नेहरुमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर, सीताकुमारी राना, सरस्वती बजिमय, मानबहादुर नेपाली, राधा घले, गोविन्द भट्टराई, उमेशजंग रायमाझी, ईश्वरी न्यौपाने, सीता गुरूङ, शान्ति परियार विक, सुशीला थिङ, गणेश लामा, रमा कोइराला पौड्याल, ललितजंग शाही, प्रदीपकुमार सुनुवार, ईन्द्रबहादुर बानियाँ, अनिल रूंगाटालगायत नेताहरूले आज अपिल जारी गरेका हुन्।

    पार्टीको सम्पूर्ण एकताका लागि अपिल-

    देश यतिबेला गम्भीर संकट र विपद्को अवस्थामा छ। राजनीतिक अवस्था तरल र चुनौतीपूर्ण बन्दै गएको छ। सरकार विपद्को बेलामा पनि एकाङ्गी ढङ्गले अघि बढिरहेको देखिन्छ भने राजनीतिक प्रणाली र संस्थाहरू कमजोर हुँदै गएका छन्। प्रणालीलाई बलियो बनाउनेभन्दा व्यक्तिलाई बलियो बनाउने प्रवृत्ति बढ्दै गएको छ।

    यस्तो अवस्थामा नेपालको राष्ट्रियता र भूराजनीतिक परिस्थिति थप पेचिलो बन्दै गएको छ। आन्तरिक राजनीतिक अस्थिरता र विभाजनले बाह्य शक्ति केन्द्रहरूको प्रभाव बढ्ने जोखिमसमेत रहन्छ। त्यसैले राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू थप जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्नेआवश्यकता छ।

    नेपालको हरेक संकटमा एउटा मियो बनेर उभिँदै आएको नेपाली कांग्रेस अहिले आन्तरिक कलहमा रुमलिँदा त्यसको असर कांग्रेस पार्टीमा मात्रै सीमित छैन, यसले समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन बनाइरहेको छ। यस्तो अवस्थामा कांग्रेस भित्रको विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभाजित बनाउनेतर्फ अघि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा हुँदैन।

    नेपालको राजनीतिमा राष्ट्रिय अन्तर्राष्ट्रिय शक्ति केन्द्रको प्रभाव परिरहेको संवेदनशील परिस्थितिमा नेपालको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई जोगाउँदै समृद्ध र सबल राष्ट्र निर्माण गर्न नेपाली कांग्रेसको भूमिका अझ महत्वपूर्ण बनेको छ। १५ औं महाधिवेशनको संघारमा जे-जसरी विशेष महाधिवेशन भयो, त्यसबाट हामीले विभिन्न तीता-मिठा अनुभवहरू प्राप्त गरेका छौं। ती अनुभवबाट पाठ सिक्दै अब विगतका विवाद र मतभेदलाई बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने संकल्प गर्नुपर्छ।

    यसका लागि कांग्रेसको सिंगो नेतृत्व पंक्ति एक ठाउँमा बसेर गहन छलफल गर्न र साझा निष्कर्षमा पुग्न आवश्यक छ। सबैले आ-आफ्नो अहंकार, आग्रह र व्यक्तिगत स्वार्थ त्याग्दै पार्टीको बृहत हितलाई केन्द्रमा राखेर हाल चलिरहेको विवादको तत्काल निकास खोज्न आग्रह गर्दछौं।

    आगामी १५ औं महाधिवेशनमा कांग्रेसका सबै सदस्यहरू सहभागी हुनसक्ने वातावरण निर्माण गर्दै नेपाली कांग्रेसको सबल नेतृत्व चयन र स्पष्ट दिशा तय गर्न हामी सबै एक भएर अघि बढ्न आवश्यक छ। कांग्रेसको बृहत एकताका लागि वर्तमान पार्टी सभापति गगन थापाको भूमिका विशेष महत्त्वपूर्ण रहनेछ। पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवार निर्वाह गर्दै दुवै पक्षवाट जारी गरिएका १५ औं महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौं।

    देश संकटमा रहेको यस संवेदनशील घडीमा नेपाली कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली नेपाली कांग्रेस निर्माणमा जुट्न हार्दिक अपिल गर्दछौं। जय नेपाल।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij