Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध


  • मंगलबार, जेष्ठ १२ २०८३

  • वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध

    प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा काठमाडौँस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा उहाँले वर्तमान क्षणको अत्यावश्यकता र आफूहरूलाई सुम्पिएको गहन जिम्मेवारीको पूर्ण रूपमा बोध गरिरहेको बताउनुभएको हो।

    प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार उक्त भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै सम्पन्न निर्वाचन परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट र निर्णायक जनादेश दिएको र नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता रहने स्पष्ट पार्नुभयो।

    प्रधानमन्त्री शाहले भन्नुभयो, “नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न पूर्ण रूपमा प्रतिबद्ध छौँ।”

    उहाँले नेपालको सुशासन र अर्थतन्त्रको समावेशी वृद्धिका लागि आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको दोहोर् याउनुभयो।

    जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्न सरकार विश्व बजारबाट लाभान्वित हुन चाहेको, बृहत् लगानी आकर्षित गर्न प्रक्रियाहरूलाई थप सहज बनाउँदै नवप्रवर्तनलाई प्रोत्साहन र दिगो विकास हासिल गर्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

    प्रधानमन्त्री शाहले नेपालले सन्तुलित एवम् व्यावहारिक विदेश नीतिको अवलम्बनलाई निरन्तरता दिने स्पष्ट पार्नुभएको छ। “हाम्रा छिमेकी, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका सिद्धान्तहरूद्वारा निर्देशित छ,”उहाँले भन्नुभयो।

    उहाँले नेपालको विकास र समृद्धिका लागि निरन्तर सद्भाव र सहयोग पुर् याउँदै आएको भन्दै नेपालका सबै विकास साझेदार र मित्रराष्ट्रहरूप्रति आभार प्रकट गर्नुभयो। साथै, उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु, पर्यटन तथा अन्य प्रमुख क्षेत्रहरूमा सहकार्य गर्न र त्यसलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको स्पष्ट पार्नुभयो।

    भेटका क्रममा प्रधानमन्त्री शाहले विश्वका विभिन्न भूभागमा द्वन्द्वले निरन्तर प्रभाव पारिरहेका बेला सर्वसाधारण नागरिकहरूले नै सबैभन्दा बढी पीडा भोग्नुपरेको भन्दै शान्ति कायम गर्न सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनले प्राथमिकता पाउनुपर्नेमा प्रधानमन्त्री शाहले जोड दिनुभयो।

    भेटमा काठमाडौँ र नयाँदिल्लीस्थित युरोपियन युनियनका राजदूतहरू तथा काठमाडौँस्थित अन्य राजदूतहरूले शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गरेको भन्दै नेपालको प्रशंसा गर्नुभएको थियो। साथै, उहाँहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित नयाँ सरकारको नेतृत्वमा पुग्नुभएकोमा प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको थियो। आर्थिक वृद्धि र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य तथा लगानी गर्न आफूहरू तयार रहेको उहाँहरूले उल्लेख गर्नुभयो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij