काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसभित्र नयाँ राजनीतिक घटनाक्रम विकसित भएको छ। विशेष महाधिवेशनबाट सभापति चयन भएका थापाले आफ्नो पदबाट राजीनामा दिएका छन् भन्ने चर्चा व्यापक बनेको छ।
स्रोतका अनुसार थापाले उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाइसकेका छन्। हालै सम्पन्न निर्वाचनमा पराजय भोगेपछि उनले नैतिक जिम्मेवारीस्वरूप पद त्याग्ने तयारी गरेको चर्चा केही समयदेखि चल्दै आएको थियो।
यद्यपि, उक्त राजीनामाको औपचारिक पुष्टि भने अहिलेसम्म भएको छैन। नेपाली कांग्रेसले यही चैत्र ६ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ, जहाँ यस विषयमा औपचारिक छलफल हुने अपेक्षा गरिएको छ।
पार्टीभित्रको अर्को महत्वपूर्ण पक्ष भनेको आधिकारिकताको विवाद हो, जुन हाल सर्वोच्च अदालत मा विचाराधीन अवस्थामा रहेको छ। यसले पार्टीको आन्तरिक निर्णय प्रक्रियामा समेत प्रभाव पार्ने देखिन्छ।
पार्टीका केही नेताहरूका अनुसार थापाको राजीनामा केन्द्रीय समिति बैठकबाट अस्वीकृत गराउने रणनीतिसहित अगाडि बढाइएको हुन सक्ने आकलन गरिएको छ। यही कारणले राजीनामालाई सार्वजनिक नगरिएको बताइन्छ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
