काठमाडौं – चलचित्रको पर्दामा देखिने कलाकार नीशा अधिकारी यतिवेला हातमा प्रचार सामग्री बोकेर चुनावी अभियानमा छिन । न तडकभडक न कार्यकर्ताको लावालस्कर ! एक तमासले उनी मतदाता भेटिरहेकी छिन । हातमा वोकेको चुनावी एजेण्डा मतदातालाई दिन्छिन् , उनीहरुको धेरै कुरा सुन्छिन्, आफ्ना थोरै कुरा सुनाउँछिन् ।
गतिशील लोकतान्त्रीक पार्टीबाट काठमाडौ क्षेत्र नं.५ उम्मेदवार बनेकी नीशा आफु किन उम्मेदवार भए भन्ने कुरा बुझाउँन व्यस्त छिन । उनले एउटै कुरामा जोड दिएकी छिन – अहिलेको तालले हुँदैन, काम गर्ने तरिका बदल्नु पऱ्यो । मतदाताले पनि उनका कुरालाई अभिरुचि पूर्वक नै सुनेका छन । र आफ्ना कुरा पनि सुनाएका छन । छोराछोरीलाई सकि नसकि पढायो अनि फेरी विदेश जानु पर्ने बाध्यता । नीशासंग एक सर्वसाधारण गुनासो गर्दै थिइन । पढेर मात्र के गर्नु जागिरै पाइदैन आर्की आमा उनै नीशासंग भन्दै थिइन । नीशा पनि उनीहरुको कुरामा सहमत छिन । सरकारमा गएर काम गर्ने अवसर नपाए शसक्त प्रतिपक्ष भएर खरदारी गर्ने योजना उनी सुनाउँछिन् ।
कला क्षेत्रमा सफलता हासिल गरिरहेकी एउटा कलाकारलाई चुनावमा होमिने बाध्यता किन आइपऱ्यो त ? नीशा भन्छिन् : यो उम्मेदवारी कुनै क्षणिक चर्चा वा लोकप्रियताको आधारमा होइन। यो लामो समयको अध्ययन, कामको अनुभव, जिम्मेवारी बोध र देशप्रति रहेको कर्तव्यको निर्णय हो।
राजनितिमा हाम्फालेकी निशाले राजनितिलाई कसरी बुझेकी छिन त ? उनी भन्छिन – राजनीति केवल भाषण गर्ने वा चिनिने नाम हुने विषय होइन। यो नीति बुझ्ने, संविधान/कानून पढ्ने, समस्या सुन्ने र समाधानका लागि तयार हुने गम्भीर जिम्मेवारी हो। त्यसका लागि साहस चाहिन्छ ! तर त्यो साहस नारा होइन, तयारी, अनुशासन र निर्णय क्षमताबाट आउँछ।

नेपाली कलाकारमा राजनितिक चेत हुँदैन भन्ने भाव्यलाई नीशाले चिरेकी छिन । उनले पाएका फोरम होस वा मतदाताको घर आंगन नीशा उच्च राजनितिक चेत प्रदर्शन गर्छिन् । – ‘ मैले जीवनका फरक–फरक चरणमा चुनौती सामना गरेकी छु, अनुभव बटुलेकी छु, अध्ययन गरेकी छु, र अझै सिकिरहेकी छु। आज म प्रतिनिधि सभामा पुग्न चाहन्छु भने, त्यो “म को हुँ” भनेर होइन, “म के गर्न तयार छु“ भनेर मूल्याङ्कन गरियोस् भन्ने चाहनाले हो।’ नीशा भन्छिन् ।
अहिले थरी – थरीका उम्मेदवार हरु चुनावी मैदानमा छन । सामाजिक सञ्जालवाट उठेका देखि स्थापित दलहरू वाट उम्मेदवार बनेकाहरूको भिडमा नीशा पृथक छिन । चलचित्रवाट कमाएको ख्यातिले गर्दा उनलाई सामान्यतयाता मानिसहरूले चिनेका छन । मै हुँ भन्ने उम्मेदवार भन्दा उनी कुनै कोणवाट कमजोर छैनन् । नीशा भन्छिन : लोकप्रियता क्षणिक हुन सक्छ, तर नीति र निर्णयको असर पुस्तासम्म पुग्छ।
त्यसैले यो यात्रामा म साहससँगै अध्ययन, अनुभवसँगै जवाफदेहिता र पहिचानभन्दा तयारीलाई अघि राखेर हिँड्न चाहन्छु
।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
