लोकतान्त्रिक पद्धतिको सर्वमान्य, आधारभूत र अपरिहार्य सिद्धान्त भनेकै विधिको शासन हो। राज्य, राजनीतिक दल वा कुनै पनि संस्थाका सबै निर्णय, गतिविधि र व्यवहारहरू विधान, नियमावली तथा स्थापित आन्तरिक प्रक्रियाअनुसार सञ्चालन हुनुनै बास्तविक लोकतन्त्रको आत्मा हो। यही मान्यताअनुसार केन्द्रीय तहदेखि तल्लो तहसम्म नियमित अधिवेशन,बैठक, समीक्षा र आत्ममूल्याङ्कनको प्रणालीलाई संस्थागत र निरन्तर बनाउनु अत्यन्त आवश्यक हुन्छ। निर्णय प्रक्रिया व्यक्ति, गुट वा भागबण्डा केन्द्रित नभई विचार, बहस, सहमति, सहकार्य र सहअस्तित्वको आधारमा अघि बढाइनु नै सच्चा लोकतान्त्रिक संस्कारको परिचायक हो। साथै आर्थिक कारोबार, नियुक्ति तथा टिकट वितरणजस्ता संवेदनशील विषयमा पूर्ण पारदर्शिता, जवाफदेहिता र निष्पक्षता सुनिश्चित गर्दै आन्तरिक लोकतन्त्रलाई सुदृढ, सक्रिय र जीवन्त बनाउनु लोकतान्त्रिक पार्टीको अपरिहार्य आवश्यकता हो।
यही पृष्ठभूमिमा वर्तमान राजनीतिक परिवेशमा नेपाली काँग्रेसको विशेष महाधिवेशन विधान त अपरिहार्य आवश्यकताका रूपमा रहेको छ। विशेष महाधिवेशन किन र कसरी भन्ने विषयमा विभिन्न कोणबाट विधानको अपव्याख्या भइरहेका बेला नेपाली काँग्रेसको विधानले नै यस विषयमा स्पष्ट मार्गनिर्देशन गरेको छ। विधानको धारा १७(२) अनुसार केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले विशेष कारण खुलाइ केन्द्रसमक्ष लिखित अनुरोध गरेमा, निवेदन परेको तीन महिनाभित्र केन्द्रीय महाधिवेशन बोलाउनु पर्नेछ भन्ने बाध्यात्मक स्पष्ट व्यवस्था छ। त्यसैगरी धारा ३(१२) ले ‘केन्द्र’ भन्नाले केन्द्रीय कार्य समिति र केन्द्रीय कार्यालयलाई बुझाउछ भने धारा २७(१) अनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहने स्पष्ट प्रावधान रहेको छ।
आज मुलुक जटिल राजनीतिक संक्रमणको चरणमा छ। २०८२ फागुनमा हुने आम निर्वाचनको तयारी, भ्रष्टाचार विरूद्ध ,विधिको शासन र सुसासन को जनआन्दोलन (जेन–जेड प्रदर्शन) पछिको राजनीतिक सन्देश, युवा तथा आम जनता देखिएको चरम असन्तुष्टि लाई सम्वोधन गर्न वर्तमान सन्दर्भमा विशेष महाधिवेशन समयको स्पष्ट माग र आबस्यकता हो। निर्वाचनअघि नै नयाँ सोच,नीति नेतृत्व र कार्यक्रम सहित जनता मा जानु अनिवार्य छ। यथास्थितिमा रहनु दुर्घटना र आत्म घाती हुने छ
नेपाली काँग्रेसलाई पुनः समयसापेक्ष, विश्वसनीय र सशक्त लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न विधान को पालना गर्दै विशेष अधिवेशन अनिवार्य छ। सबै मिलेर विशेष अधिवेशन सहभागी बनौं,नवीन कांग्रेसको निर्माण गरौं। सहमति मै निकास निकालौं ,पार्टी विभाजन होईन अझ ससक्त उर्जाशील एकता निर्माण को बाटो खोजौं। सबै पक्ष गम्भीर बनौ,
सबै महाधिबेसन का साथीहरु सहभागी बनौ, सफल पारौ र नयाँ कांग्रेस निर्माण गरौं।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
