काठमाडौं – सभामुख देवराज घिमिरेले संसद्मा विपक्षी सांसदहरुले भिजिट भिषा लगाएनका विषय उठाएर बैठक बहिष्कार गरेको र उक्त सम्बन्धमा दलहरु विच सम्बाद नभएको प्रति चिन्ता प्रकट गरेका छन । सांसदहरुलाई अपिल गर्दै घिमिरेले भनेका छन – ‘सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु ।’ सभामुख घिमिरेले संसद्लाई मूल लयमा फर्काउन अपिल समेत गरेका छन ।
उनको अपिल यस्तो छ :
प्रतिनिधि सभाको आजको बैठकमा गरिएको अपिल
….
माननीय सदस्यज्यूहरू,
• भिजिट भिसा प्रकरणको छानबिनलगायतका माग राखी लामो समयदेखि प्रतिपक्षी बेञ्चमा रहेका माननीय सदस्यज्यूहरू नियमित बैठकमा सहभागी हुनुभएको छैन । यस सम्बन्धमा सहमतिका लागि म आफैंले सम्भाव्य सबै पहल र संवादको मार्ग अपनाएकोबारे माननीयज्यूहरू जानकार नै हुनुहुन्छ । यसका बाबजुत पनि म आज पनि सहमतिका लागि प्रयत्नशील रहेको छु । तर सदन सुचारू बनाउन सरकार र राजनीतिक दलहरूबीच हुनुपर्ने छलफल र संवाद नभएकोमा चिन्तित छु ।
• यसरी बैठक सुरू हुनासाथ “असहमति प्रदर्शन” गर्ने र बाहिरिने प्रवृत्ति संस्थागत लोकतान्त्रिक प्रणाली र संसदीय अभ्यासका दृष्टिले दीर्घकालीनरूपमा हानिकारक सावित हुनसक्छ । हामी भविष्यलाई के सन्देश दिइरहेका छौं भन्ने विषयमा सबै सचेत रहनु आवश्यक छ । संसद केवल असहमति अभिव्यक्त गर्ने स्थलमात्र होइन; राष्ट्रिय सहमतिको आवाज प्रकट गर्ने थलो पनि हो ।
• अहिले हामी संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ पार्ने प्रयोजनका लागि संघीयतासँग प्रत्यक्ष सम्बन्धित विधेयकहरूलाई पारित गर्ने प्रक्रियामा छौं । यी विधेयकहरूमा सबै माननीयज्यूहरूको गम्भीर र रचनात्मक बहस अपरिहार्य छ। समितिहरूमा जस्तै सभामा पनि संसदको गर्भमा रहेका यी कानूनले सबै माननीयहरूको बहस खोजिरहेको महसुस गरेको छु ।आज सम्माननीय प्रधानमन्त्रीले सभामा बोल्नका लागि समय लिनुभएको छ । सबै माननीयहरूलाई बैठकमा सहभागी हुन आग्रह गर्दछु ।
• म फेरि पनि सरकार, प्रतिपक्ष र सत्तापक्षमा रहनुभएका दल तथा सबै माननीय सदस्यज्यूहरूलाई संवादको वातावरण सृजना गरी सदनलाई आफ्नो मूल लयमा फर्काउन अपिल गर्दछु ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
