Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अध्यक्ष प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र काहाँ बन्यो र प्याराफिट ?


  • सोमबार, असार ३० २०८२

  • अध्यक्ष प्रचण्डको प्रश्न – ३०० दिनमा कहाँ जोडियो फ्लडलाइट र काहाँ बन्यो र प्याराफिट ?

    काठमाडौं, असार ३० —प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा सम्बोधन गर्दै सरकारमाथि तीव्र आलोचना गर्नुभएको छ। उहाँले विशेषगरी कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्यप्रति सरकारको गम्भीर उदासीनता र असफलताप्रति प्रश्न उठाउनुभयो।

     

    उहाँले स्मरण गराउँदै भन्नुभयो, “मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो। तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो।”

     

    तर, आज एक वर्ष अर्थात् ३६५ दिन बितिसक्दा समेत उक्त घोषणा कार्यान्वयनमा आउन नसकेको भन्दै प्रचण्डले सरकारको प्रतिबद्धता र क्षमतामाथि गम्भीर प्रश्न उठाउनुभयो। “जोडियो त फ्लडलाइट ? बन्यो त प्याराफिट ” भन्दै उहाँले सत्तारूढ दलको घोषणा र व्यवहारबीचको अन्तर औँल्याउनुभयो।

     

    पूर्वप्रधानमन्त्री प्रचण्डले यस्तो कार्यशैलीले सरकारको घोषणा केवल प्रचारबाजीमा सीमित भएको देखिएको बताउँदै, राष्ट्रिय गौरवका अन्य आयोजनाहरूमा समेत यस्तै लापरवाही दोहोरिएकोमा चिन्ता व्यक्त गर्नुभयो।

     

    “योजना बनाउन, बैठक राख्न र माइक समातेर उद्घोष गर्न सकिन्छ, तर विकासका काम योजनावद्ध ढंगले निरन्तरता दिइनु पर्दछ,” उहाँले भन्नुभयो, “तर, अहिले सरकारमा त्यो दृष्टिकोण र इच्छाशक्ति देखिएको छैन।”

     

    उक्त रंगशाला निर्माणप्रति जनताको चासो र अपेक्षा उच्च रहेको सन्दर्भमा प्रचण्डले सरकारलाई घोषणाको भन्दा कार्यान्वयनमा केन्द्रित हुन आग्रह गर्नुभयो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij