Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली काँग्रेसद्वारा सानेपामा १९ आना जग्गा खरिद


  • शुक्रबार, असार १३ २०८२

  • नेपाली काँग्रेसद्वारा सानेपामा १९ आना जग्गा खरिद

    काठमाडौँऔ नेपाली काँग्रेसले आफ्नो केन्द्रीय कार्यालय रहेको ललितपुरको सानेपास्थित परिसरलाई थप व्यवस्थित र फराकिलो बनाउने उद्देश्यले १९ आना जग्गा खरिद गरेको छ।

    काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार, सानेपास्थित केन्द्रीय कार्यालय अगाडिको १९ आना (एक रोपनी तीन आना तीन पैसा) जग्गा र त्यसमा निर्मित तीन तले घर खरिद गर्ने निर्णय भएको हो। उक्त जग्गा र घर ललितपुर निवासी अमिर मान अमात्यको स्वामित्वमा रहेको थियो।
    जग्गा खरिदका लागि असार ११ गते नेपाली काँग्रेसका महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थितिमा जग्गा धनीसँग सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार, एक वर्षभित्र जग्गा पास गर्ने गरी ५० लाख रुपैयाँ बैना प्रदान गरिएको छ।

    उक्त जग्गा र घर १३ करोड रुपैयाँमा खरिद गरिएको जनाइएको छ। नेपाली काँग्रेसले यो रकम पार्टीको विभिन्न तहको लेवी र शुभेच्छुकहरूको सहयोगमार्फत जुटाउने योजना बनाएको छ। विज्ञप्तिमार्फत यो खरिद प्रक्रियामा सबैको अपनत्व हुने गरी रकम चुक्ता गरिने उल्लेख गरिएको छ।

    नेपाली काँग्रेसले सानेपास्थित केन्द्रीय कार्यालय परिसरलाई थप व्यवस्थित, सुविधा सम्पन्न र कार्यकर्तामैत्री बनाउन यो कदम चालेको बताएको छ। कार्यालय परिसरको विस्तारले पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij