Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कर्णालीको विकासमा राजनीति गर्न हुँदैन : उपप्रधानमन्त्री खड्का


  • मंगलबार, फाल्गुन १५ २०८०

  • कर्णालीको विकासमा राजनीति गर्न हुँदैन : उपप्रधानमन्त्री खड्का

    काठमाडौं -उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले निर्वाचनका बेला कर्णालीमा भएका चुनावीसभाहरूमा व्यक्त गरेका प्रतिवद्धताहरू पूरा हुँदै गएको बताउनु भएको छ । उहाँले निर्वाचनका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले कालिकोटमा सम्बोधन गर्ने क्रममा बोलेको कुरामध्ये एउटा काम पुरा भएको बताउनुभयो । सोमबार कालिकोटको सुनथराली विमानस्थल उद्घाटन कार्यक्रममा खड्काले प्रतिबद्धता अनुसार नेपाल एयरलाइन्सको जहाजले सातामा एक दिन सुनथराली विमानस्थलमा उडान भर्ने बताउनुभयो ।

    कालिकोटका नागरिकलाई यातायातमा सहज हुनेगरी तीनै तहका सरकारले समन्वय गर्ने पनि उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले बताउनुभयो । उहाँले वर्तमान प्रधानमन्त्री र आफूले निर्वाचनका बेला कर्णालीमा गरेका प्रतिवद्धता क्रमश: पूरा गर्न आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो ।

    उपप्रधानमन्त्री खड्काले हरेक बजेटमा कर्णालीलाई प्राथमिकता दिएको भन्दै यहाँको समस्याबारे आफू जानकार रहेकाे पनि बताउनुभयो । शिक्षा, स्वास्थ र पूर्वाधारको विकासमा सबै दलहरू एकजुट हुनुपर्नेमा उहाँको जोड छ ।

    ‘कर्णालीको विकासमा राजनीति गर्न हुँदैन । सबै मिलेर कर्णालीको विकासमा हातेमालो गरौं । कर्णाली राजमार्ग, भेरी करिडोर, मुगुका प्रमुख सडकहरू निर्माण गर्नेदेखि विद्युत् उत्पादनका क्षेत्रका कामहरूमा पनि सबैले हातेमालो भएर लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले कालिकोटको शिक्षा, स्वास्थ्य, पूर्वाधार र यातायाततर्फकाे विकासमा सबै दल एकजुट हुनुपर्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘कालिकोटको विकासकाे लागि केन्द्र सरकारकाे तर्फबाट पहल गरिरहेकाे छु, कालिकोटका पर्यटकीय क्षेत्रकाे विकासको लागि र कर्णाली प्रदेशको विकासको लागि नेपाल सरकारले एक किसिमको खाका तयार गरेको छ ।’

    मुलुकमा विमानस्थल कम भएपनि जहाजको सेवा कालिकोटका गरिब जनता, सुत्केरी महिला र बृद्धबृद्धाहरूकाे लागि सहयोगी हुने बताउनुभयो । उहाँले जहाज मार्फत कालिकोटको पर्यटन, कृषि र अन्य विकासमा सरकारले सहयोग गरिरहेकाे उहाँको थियोे ।

    उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले १०–१५ वर्षमा कर्णालीलाई समृद्ध प्रदेश बनाउन सकिने बताउँदै त्यसका लागि सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा पर्यटनमन्त्री सुदन किराँती, मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्री तथा सांसद महेन्द्रबहादुर शाही र पूर्वमुख्यमन्त्री तथा कर्णाली प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij