Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील (तस्वीरहरु) 


  • सोमबार, फाल्गुन ७ २०८०

  • सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणमा समाहित हुन प्रधानमन्त्रीको अपील (तस्वीरहरु) 

    काठमाडौँ, ७ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोककल्याणकारी सामाजिक न्याययुक्त समाजवादी राज्य निर्माणको अभियानमा समाहित हुन सम्पूर्ण जनसमुदायमा अपील गर्नुभएको छ ।

     

    प्रजातन्त्र दिवसको औपचारिक समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले नेपाली माटो सुहाउँदो समाजवादी राष्ट्र निर्माणका लागि आह्वान गर्नुभएको हो । उहाँले नेपाली जनताको सुशासन, सामाजिक न्याय र समृद्विको आकांक्षा पूरा गर्न हामीले सामना गरिरहेका चुनौतीलाई नजिकबाट नियालिरहेको उल्लेख गर्नुभयो ।

     

    तमाम क्रान्तिका अवयव एवं आन्दोलनमा योगदान गर्ने आम जनताको भावनाप्रति उच्च सम्मान व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले आधुनिक नेपालको शासकीय स्वरूपको जग नै विभिन्न चरणका सङ्घर्ष र क्रान्तिको अविछिन्न श्रृङ्खला भएको बताउनुभयो ।

     

    “यतिखेर म, नेपाली जनताले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ गरेको विश्वास, राखेको आशा र भरोसालाई कमजोर हुन नदिन लागिरहेको छु । संविधानले प्रत्याभूत गरेका हक अधिकार एवं जनताको दैनिक जीवनस्तरमा देखिने परिवर्तन ल्याउन ठोस कदम चाल्नुपर्नेमा म सचेत र गम्भीर छु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यस दिशामा आ–आफ्नो जिम्मेवारीअनुरूप जनउत्तरदायी भएर काम गर्नसमेत सम्पूर्ण राष्ट्रसेवकहरूमा निर्देशित गर्दछु ।”

     

    निरकुंश शासन व्यवस्थाको अन्त्य गर्दै जनअधिकार स्थापना गर्ने तमाम बलिदानीपूर्ण जनसङ्घर्ष, क्रान्ति, आन्दोलनहरूको माध्यमबाट देशमा लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व र आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको सामाजिक न्याय र आर्थिक सामाजिक रूपान्तरणको जग निर्माण भएको प्रधानमन्त्रीले स्मरण गर्नुभयो ।

     

    प्रधानमन्त्री प्रचण्डले संविधानको प्रस्तावनामा समाजवादउन्मुख राज्य निर्माणको सङ्कल्प गरिएकाले प्राप्त अधिकारको रक्षा र सुदृढीकरणसहित थप अधिकारका निमित्त अगाडि बढ्ने ढोका खुला रहेको बताउनुभयो ।

     

    नेपाली जनताको राजनीतिक सङ्घर्ष र क्रान्तिको लामो गौरवशाली परम्परा रहिआएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “निरकुंशतन्त्रको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि सङ्घर्षको मैदानमा खट्नुभएका सबैमा उच्च सम्मानसहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

    –––––––

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij